किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल

रासस

शनिबार, १८ साउन २०७६, १९ : ५८
किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल

फाईल फोटो

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताउनुभएको छ । 

वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक कागतीखेतीको आज शुरुआत गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायिकरूपमा खेती गर्ने किसानको खोजीमा रहेको बताउँदै सामूहिकरूपमा खेती गर्ने किसानलाई सरकारले सहयोग गर्ने बताउनुभयो । आधुनिक युगमा मुलुकलाई अगाडि बढाउनका लागि कृषिमा पनि  प्रविधि र यान्त्रीकरणको आवश्यक्ता भएकाले यो अभियान शुरु गरेको मन्त्री अर्यालको भनाइ थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री लेखबहादुर थापाले प्रदेश सरकार सामूहिक प्रणलीमा काम गर्ने किसानलाई सहयोग गर्ने निर्णय नै गरेर अगाडि बढेको बताउँदै उत्पादनलाई बढवा दिन पनि सामूहिक कृषि प्रणाली आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी बोर्डले साना किसान सहकारीका माध्यामबाट सामूहिक रुपमा खेती गर्ने किसानलाई सहयोग गर्ने बताउनुभयो । थुमपोखरा साना किसान कृषि सहकारीका माध्यामबाट काम गर्ने योजनाका साथ सामूहिक कागती खेती अभियानको लागि रु ४९ लाख उपलब्ध गराउने निर्णय भएको बताउँदै सो रकम कामका आधारमा उपलब्ध गराउने बताउनुभयो ।  

कागती खेती अभियानको नेतृत्व गरिरहनुभएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले अहिले ६०० रोपनी जमीनमा १५ हजार कागतीका बिरुवा लगाउने र एक वर्षभित्रमा एक हजार रोपनी जमीनमा ३० हजार कागतीका बिरुवा लगाउने जानकारी दिनुभयो ।  

थुमपोखरा साना किसान कृषि सहकारीका अध्यक्ष मोहन खनालले जग्गाको क्षेत्रफलको आधारमा एक रोपनीको पाँच हजारका दरले शेयर राखेर कामको शुरुआत गरिएको र १२० घरपरिवार यो सामूहिक कागती खेतीमा सहभागी भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस