ट्राफिक नियम प्रति सचेतना बढ्दै

शनिबार, १८ साउन २०७६, १० : ४४
ट्राफिक नियम प्रति सचेतना बढ्दै

रोल्पा । ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो । यो सङ्ख्या आव ०७४/०७५ को तुलनामा ७२४ ले कम हो । आव ०७४/०७५ मा यो सङ्ख्या तीन हजार ५५८ रहेको थियो । 
ट्राफिक नियम उलङ्घन गरेर कारवाहीमा पर्ने सवारीसाधनबाट आव ०७५/०७६ मा रु १५ लाख ३३ हजार ५०० राजश्व सङ्कलन भएको छ । आव  ०७४/०७५ मा भने त्यसरी उठेको राजश्व रु १८ लाख ८२ हजार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इञ्चार्ज अम्बर थापाले जानकारी दिनुभयो ।  जिल्लामा खुल्दै गरेका नयाँ सडक र बजार विस्तारसँगै सवारीसाधनको सङ्ख्यामा समेत वृद्धि भए पनि ट्राफिक प्रहरी जनशक्ति भने निकै कम रहेको छ । जिल्लाभरको लागि १० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् । थोरै  जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता रहेको इञ्चार्ज थापाको भनाइ छ ।
सदरमुकाम लिवाङ, होलेरी, सुलिचौर र घर्तीगाउँमा अस्थायी पोष्ट राखेर सेवा दिइरहेका छाँै थापाले भन्नुभयो । सवारी चालकलाई सचेतीकरण, अन्तरक्रिया तथा पर्चा पोष्टर वितरणले अघिल्लो वर्षको तुलनामा कारवाही पर्नेको सङ्ख्या कम भएको हो । –रासस

प्रतिक्रिया दिनुहोस