भीभीआईपीको विदेश भ्रमण : राज्यको २४ करोड ‘स्वाहा’ !

विदेश भ्रमणमा निस्कने मन्त्रीहरुमा मातृका यादव पहिलो

विहीबार, ०२ साउन २०७६, १७ : ३३
भीभीआईपीको विदेश भ्रमण : राज्यको २४ करोड ‘स्वाहा’ !

काठमाडौँ । भीभीआईपी भ्रमणमा मात्र राज्यको २४ करोड ‘स्वाहा’ भएको छ । सरकारका उच्चपदस्थ अधिकारीहरुको विदेश भ्रमणका लागि झण्डै २४ करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको देखिन्छ।

२०७५ असारदेखि २०७६ जेठसम्ममा सरकारका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुको विदेश भ्रमणका नाममा २३ करोड ९ लाख ५५ हजार खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

११ महिनामा सबैभन्दा बढी विदेश भ्रमणमा निस्कने मन्त्रीहरुमा मातृका यादव पहिलो भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव सबैभन्दा धेरै ५ पटक विदेश भ्रमणमा निस्केका छन् । मन्त्री यादव दुबई र बहराइन जाँदा भ्रमणमा ८ लाख ३८ हजार ९ सय ३८ रुपैया, वेइजिङ जाँदा ५ लाख ३९ हजार १ सय ५६ रुपैयाँ, दिल्ली भ्रमणका लागि २ लाख ६६ हजार ६ सय ५१ रुपैयाँ, अर्कोपटक भारत भ्रमणमा जाँदा २ लाख ४२ हजार ३ सय ६१ रुपैयाँ र चाइना एक्स्पोमा सहभागी हुन जाँदा ४ लाख ८० हजार ६ सय ३३ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्मा उल्लेख छ ।

भ्रमणमा दोस्रो नम्बरमा पर्छन्  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । उनी पनि ४ पटक विदेश भ्रमणमा निस्केका मन्त्री हुन् । उनलाई टक्कर दिएका छन् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले । यादव पनि चार पटक विदेश भ्रमणमा निस्केका मन्त्री हुन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेतृत्वको प्रतिनिधिमण्डल पनि तीन पटक विदेश भ्रमणमा ३ पटक विदेश भ्रमण गरेका छन् ।

कृषिमन्त्री वलदेव शर्मा एक पटक, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट एक पटक, चारपटक, वनमन्त्री शक्ति बस्नेत दुई पटक, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ३ पटक, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई पटक, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा दुई पटक, अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा रहेकी पद्मा अर्याल एकपटक र रक्षामन्त्री ईश्वर पोखरेलले दुईपटक विदेश भ्रमण गरेका छन् । 

सरकारी तथ्याङ्अनुसार राष्ट्रपतिको अमेरिका, चीन र पोल्याण्ड भ्रमणमा मात्रै ७ करोड ९३ लाख ३८ हजार ४१७ रुपैयाँ  खर्च भएको छ । राष्ट्रपति नेतृत्वको नेपाली प्रतिनिधिमण्डलका लागि चीन भ्रमणमा ३ करोड ९ लाख ५५ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको तथ्यांकमा रहेको छ । 

त्यस्तै अमेरिका भ्रमणका लागि एक करोड ६२ लाख १५ हजार ३४४ रुपैयाँ पोल्याण्ड भ्रमणका लागि २ करोड १ लाख ४२ हजार ६ सय ६५ रुपैयाँ कतार भ्रमणका लागि एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणका लागि ९ करोड ८३ लाख १७ हजार १ सय ८९ रुपैया खर्च भएको छ । प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडिया भ्रमणका लागि २ करोड १२ लाख ८५ हजार २६ रुपैयाँ, जेनेभा भ्रमणका लागि एक करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैयाँ, अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा र कोस्टारिका भ्रमणका लागि ४ करोड ३७ लाख ८० हजार ९ सय ८० रुपैया र चीन भ्रमणका लागि एक करोड ५१ लाख १ हजार ४ सय ५७ रुपैयाँ खर्च गरेका हुन् ।

ईश्वर पोखरेलको अमेरिका भ्रमणमा ९ लाख ५५ हजार २ सय ४५ खर्च भएको छ भने बेइजिङ फोरमका सहभागी हुन पोखरेल चीन जाँदा १३ लाख ४ हजार १० रुपैया खर्च भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणका लागि १८ लाख ७० हजार ३ सय ९० रुपैयाँ, मानवअधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जाँदा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ, दोस्रोपटक अमेरिका भ्रमणका लागि २६ लाख ४१ हजार ८ सय २८ रुपैयाँ र आणविक उर्जा संगठनको महासभामा भाग लिन भियना भ्रमणमा जाँदा ४१ लाख २९ हजार ५ सय २४ रुपैयाँ खर्च भएको छ ।

त्यसबाहेक गत बैशाखमा कानुन आयोगका अध्यक्ष माधव पौडेल जाम्बिया जाँदा १५ लाख १६ हजार ४ सय ३२ र कानुन सचिवको अमेरिका भ्रमणमा १३ लाख ९१ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ ।

चैत २५ र २६ गते खेलकुदमन्त्रीको अमेरिका भ्रमणका लागि ६ लाख ४८ हजार १ सय ९१ रुपैयाँ, अन्तराष्ट्रिय अवार्ड ग्रहणका लागि भारत भ्रमणमा जाँदा १ लाख ८९ हजार ६ सय ८० रुपैयाँ र एन्टिडोपिङको मन्त्रीस्तरीय छलफलका लागि श्रीलंका भ्रमणमा जाँदा ६ लाख २८ हजार ९ सय २५ रुपैयाँ खर्च भएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको स्पेन र फ्रान्सको भ्रमणका लागि २६ लाख १० हजार ९ सय ८४ रुपैया, दिल्ली, दुबई, जर्मनी र स्विटजरल्याण्ड भ्रमणका लागि १९ लाख २७ हजार ६ सय ६३ रुपैया र ट्याक्सी खर्चबापत् १९ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ ।

कृषिराज्यमन्त्रीको इटाली भ्रमणका लागि ८ लाख ८० हजार १ सय १९ रुपैयाँ खर्च गरेको सरकारले नेपाल भारत कृषिमा साझेदारीता कार्यक्रमका लागि भारत गएका बलदेव शर्माका लागि ५ लाख ५८ हजार ८ सय ३५ रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय सूचना आयोगका दुईजना आयुक्तहरुको दक्षिण अफ्रिका भ्रमणका लागि ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ खर्च गरेको सरकारले मुख्यसचिवको इजरायल र इजिप्ट भ्रमणका नाममा १३ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको छ ।

वनमन्त्री शक्ति बस्नेतको दोहा भ्रमणको खर्च ७ लाख ४ हजार २ सय ७३ रुपैयाँ खर्च गरेको सरकारले स्वास्थ्मन्त्री उपेन्द्र यादवको दुईपटक भएको भारत भ्रमणका लागि ३ लाख ३९ हजार ५ सय ३७ रुपैयाँ, मेन्टल हेल्थको मन्त्रीस्तरिय सम्मेलनका लागि बेलायतको लण्डन भ्रमणका लागि ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ, काजकस्तान र स्विटजरल्याण्ड भ्रमणका लागि १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ र वर्तमान सरकारमा भूमि व्यवस्था तथा सहकारीमन्त्रीका जिम्मेवारीमा रहेकी पद्मा अर्याल स्वास्थ्मन्त्री हुँदा विश्वस्वास्थ्य संघको ७१ औँ महासभामा जेनेभा भ्रमणका लागि ७ लाख १७ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै अर्थमन्त्री नेतृत्वको भ्रमण टोलीले विभिन्न देश भ्रमणका लागि नाममा ३७ लाख ५ हजार ९ सय ३१ रुपैयासहित अर्थ मन्त्रालयका पदाधिकारीको भ्रमणका नाममा १६ लाख १६ हजार ४ सय रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस