फेसबुकमा बुढेसकालको अनुहार बनाउँदै हुनुहुन्छ ? सचेत रहनु होला यस्तो हुन्छ असर !

विहीबार, ०२ साउन २०७६, १२ : ४१
फेसबुकमा बुढेसकालको अनुहार बनाउँदै हुनुहुन्छ ? सचेत रहनु होला यस्तो हुन्छ असर !

चितवन । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो सुन्दर अनुहारलाई बुढेसकालको अनुहार बनाउने प्रचलन यतिबेला उच्च छ । फेसएपमार्फत आफ्नो अनुहारलाई बूढो बनाएर शेयर गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । तर यसको बेफाइदातर्फ कमैको ध्यान गइरहेको छ । 

प्रविधिको प्रयोग नजान्नेका लागी निक्कै ठूलो कुरा जस्तो देखिए पनि प्रयोगकर्ताका लागि भने बुढेसकालको खुम्चिएको अनुहार जस्तै पीडा भोग्नुपर्ने अवस्था आउने विशेषज्ञहरुको दावी छ । 

बुढेसकालको अनुहार बनाएर केहि क्षण खुसी दिए पनि दीर्घकालसम्म दुःखी बनाउने  विशेषज्ञहरुको दाबी छ । उनीहरुले यो एपको प्रयोगकर्ताको डेटा असुरक्षित भइसकेकाले अब प्रयोग नगर्न सुझाव पनि दिएका छन् । फेसबुकले पनि समय समयमा जथाभावी एप्सहरु नचलाउन भनिरहेको छ ।

फेस एप ओल्ड फिल्टर एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिन्छ भन्ने तस्वीर देखाउने काम गर्दछ । ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ । यसको उपयोग गरी आफ्ना तस्वीर पोस्ट गर्नेहरु बढिरहेका छन् । यसका साथै सुरक्षा चुनौती बढेको छ ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । ’‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ । यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्वीरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ ।

यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्वीरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुने भयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनै पनि डेटाहरु अरुलाई बेच्न सक्छ । यस्तो अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ ।

विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्वीरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनै पनि तस्वीरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’

अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले ‘फेसएप’माथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस