रत्ननगर नगरपालिकाको नगर सभा सम्पन्न

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १९ : २५
रत्ननगर नगरपालिकाको नगर सभा सम्पन्न

रत्ननगर । रत्ननगर नगरपालिकाको पाँचौं नगर सभा सम्पन्न भएको छ । जेठ १० गतेबाट सुरु भएको नगर सभा सोमबार नीति तथा कार्यक्रम र बजेट पारित गरी समापन भएको हो । 

नगर सभाले सहकारी संस्था निर्देशिक २०७५, सहकारी मापदण्ड २०७५, बजार अनुगमन निर्देशिका २०७६ र मेलमिलाप समितिको कार्यविधि, आर्थिक ऐन २०७६ र विनियोजन ऐन २०७६ पारित गरेको छ । नगरपालिकाले नगर शिक्षा ऐन २०७४ लाई संशोधन गरी वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने प्राबधानलाई केही खुकुलो बनाएको छ । संशोधित ऐनमा नगर शिक्षा समितिमा शिक्षक महासंघको अध्यक्ष शिक्षा समितिको पदेन सदस्य रहने व्यवस्था गरेको छ । 

नगर सभाको समापन कार्यक्रममा मेयर नारायण वनले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्दै रत्ननगरलाई विकासको उचाईमा पुर्याउने काममा ध्यान केन्द्रित गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले अहिले सम्म भएका कामको समीक्षा गर्दै नगरवसीलाई विकासको अनुभूति दिलाउने गरी अबको बर्षमा काम गर्नुपर्ने बताए । 

कार्यक्रममा उपमेयर विमला दुवाडीले विनियोजित बजेट कार्यान्वयन गर्दै जनतालाई विकासको अनुभूति गराउन ध्यान केन्द्रीत गर्नुपर्ने बताइन् ।

नगर सभाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सहित एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ बरावरको बजेट विनियोजन गरी पारित गरेको नगर प्रबक्ता राजेन्द्र हमालले बताए ।
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरुले नीति तथा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनको विषयमा आआफ्नो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस