चितवन । गैंडाकोट ४ मा मुकुन्दशेन पार्क निर्माण कार्य सुरु भएको छ । गैंडाकोट ४ को जयश्री खोला छेउ क्षेत्रीय रंगशाला नजिकै १० कठ्ठा क्षेत्रफलमा निकै आकर्षक नमुना पार्क निर्माणका लागि काम थालेको वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । डिभिजन वन कार्यालय नवलपुरको प्रकृति संरक्षण अन्र्तगत विनियोजित १२ लाख ५० हजारको बजेटले पार्क निर्माणको लागि काम धमाधम भइरहेको अध्यक्ष न्यौपाने बताउनु हुन्छ । गैंडाकोट कै नमुना पार्क निर्माणका लागि आफूले पहल गरेको र पार्क निर्माण पुरा गर्न निकै धेरै बजेट लाग्ने भएकाले नगरपालिकालाई पनि सहयोग गरिदिन आग्रह भइरहेको अध्यक्ष न्यौपने बताउनुहुन्छ । त्यस्तै जयश्री खोलालाई पनि छेकेर पानी जम्मा गरी ताल जस्तो बनाएर जल विहारको आनन्द लिने ठाउँ बनाउने उहाँ बताउनुहुन्छ ।
पहिलो चरणमा बिनियोजित बजेटले जति पुग्छ त्यसपछि पार्कको डिपिआर तयार पारि बाँकी काम सुरु गर्ने अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।
पार्क निर्माण समितिका संयोजक देवराज घिमिरेले मुकुन्दसेन पार्क निर्माणका लागि बजेट अपुग भएको र बाँकी बजेटका लागि अव नगरपालिकाले बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।
यो क्षेत्रमा पार्क बन्नु निकै खुसिको कुरा भएको र वडा अध्यक्ष कृष्णप्रसाद न्योपाने निकै सक्रियताका साथ पार्क निमार्णमा लाग्नु भएको स्थानीय बासिन्दा रमेश न्यौपानेले बताउनुभयो । त्यसै खेर गएर झाडी जस्तो बनेको लागु औषध प्रयोग कर्ताहरुको अखडा बनेको क्षेत्र अहिले निकै सुन्दर बनेको देख्न सकिन्छ । वडा अध्यक्ष न्यौपानेको निकै ठूलो कसरतले सो जमिनलाई संरक्षण गरी पार्क निर्माण भएको र त्यो पार्कलाई साँच्चै नमुना पार्कका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य भएको गैंडाकोट ४ का स्थानीय बासिन्दा तथा समाजसेवी नन्दप्रसाद घिमिरेले बताउनुभयो । पार्कमा अहिले पार्कको बाहिरी स्वरुप निर्माण गर्ने र सरसफाइ गर्ने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस