अदुवा निकासी ठप्प, कृषक मर्कामा

शुक्रबार, १२ माघ २०७४, १५ : ४३
अदुवा निकासी ठप्प, कृषक मर्कामा

इलाम  । भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् ।

भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयौं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् ।

अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् ।

“भारतीय पक्षले विभिन्न बहाना बनाएर अदुवा निर्यातमा रोक लगाएको छ,” बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने, “भारतले बारम्बार अदुवा निकासी ठप्प पारेर किसान र व्यापारीलाई मारमा पारेको छ ।” नेपाली अदुवामा मिसावट नभएको उनको भनाइ छ ।

पटकपटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको पौडेलले बताए ।
बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित छन् ।
गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए ।

यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउँछन् ।

अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस