माइतीविहिन चेलीहरुका लागि देशभर माइतीघर निर्माण गरिदिनुपर्ने माग

शनिबार, १४ असार २०७६, १८ : ०४
माइतीविहिन चेलीहरुका लागि देशभर माइतीघर निर्माण गरिदिनुपर्ने माग

चितवन । माइतीविहिन चेलीहरुका लागि माइतीघर निर्माण गरिदिनुपर्ने आवाज उठ्न थालेको छ । सरकारले हरेक जिल्लामा माइतीघर निर्माण गरिदिनु पर्ने माग चेलीहरुले गर्न थालेका छन् । मर्दश नेपाल नामक संस्थाले माइती घर निर्माण गर्ने अभियान थालेको जनाएको छ । माइती नभएका चेलीहरुका लागि आश्रय स्थलको रुपमा विकास गर्न र माइतीको याद दिलाउने गरी सुखदःुखका कुराहरु गरेर आफ्नो पीडा साटासाट गरी खुसी रहन सहज होस भन्ने उदेश्यले माइतीघर निर्माणका लागि योजना बनाएको संस्थाकी अध्यक्ष सुनिता थापाले बताउनुभयो ।

आफ्नो संस्था विगत १ वर्ष अगाडि स्थापना भएको र स्थापनासँगै माइतीविहिन, घरबाट पनि हेलामा परेका चेलीहरुको लागि आश्रय स्थलका रुपमा विकास गर्ने आफ्नो चाहाना रहेको र त्यसका लागि उचित जग्गा खोजी गरी आर्थिक सहयोग गरी पूण्य कामलाई सफल बनाइदिनुहुुन अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

चितवनमा हेड क्वाटर रहने गरी ७७ वटै जिल्लामा राज्यकोे सहयोगमा माइतीघर निर्माण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले चेलीहरु निकै पीडामा परेको र घरबाट समेत अपहेलित भएका माइतीमा जाँदा पनि दाई भाउजुले बस्न नदिएर रुँदै हिड्नु पर्ने चेलीहरुका लागि माइतीघर आवश्यक रहेको र त्यसका लागि राज्यले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफ्नो योजना राष्ट्रपति समक्ष पनि पेस गर्ने बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस