कांग्रेसमा देउवा–पौडेलबीचमा देखियो नयाँ विवाद

विभाग गठन गरेर महाधिवशेन पछि धकेल्ने देउवाको तयारी, पौडेल पक्ष भन्छ,–‘विभाग गठन छोडौं, महाधिवेशन पहिले गरौं’

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, ०८ : २२
कांग्रेसमा देउवा–पौडेलबीचमा देखियो नयाँ विवाद

काठमाडौं । आन्तरिक पार्टी राजनीतिभित्र सधैका प्रतिस्पर्धी हुन्, – कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । उनीहरु बीचको विवाद नयाँ होइन । बेला–बेला यी दुई नेताबीच गत १३ औं महाधिवेशनबाट नै विवाद देखिदै आएको हो ।

पार्टी कार्यक्रम देखि विभाग र आयोग गठनसम्ममा विवाद देखिदा महाधिवशेनले निर्वाचित केन्द्रीय समितिले विद्यान अनुसार आफनो कार्यकाल सकाउन लाग्दा समेत कतिपय पार्टीको केन्द्रीय विभाग र निकायलाई नै पूर्णता दिन सकेको छैन । हरेक कमिटि र संगठनात्मक निर्णय लिनुपर्दा काग्रेसमा यी दुई पक्षका बीचमा गुटगत भागबन्डा नै हुने गरेको छ । देउवा ६० र पौडेल ४० प्रतिशतको भागबन्डाबाट मात्र निर्णय लिनुपर्ने अवस्था काग्रेसमा पूरानै रोग हो । त्यही रोग बल्झिरहेका बेला पछिल्लो पटक फेरि देउवा पौडेलमा नयाँ विवाद देखिएको छ । पछिल्लो विवाद भने महाधिवेशन केन्द्रीत रहेर हुन थालेको हो ।

विद्यानतः जाने हो भने काग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी फागुनमा गर्नुपर्ने हुन्छ । तर देउवा त्यो मितिमा महाधिवेशन गर्ने पक्षमा छैनन । पौडेल महाधिवशेनको तयारीमा जुटिहाल्नुपर्ने पक्षमा उभिएका छन् ।

देउवा भन्छन्,–‘ विभाग गठन गरौं, महाधिवशेन अलिक पछि सारौं’

सभापति देउवाले पार्टी जागरण अभियानका क्रममा रहेको र गाउ तहबाटै अधिवशेन गरेर फागुनमा महाधिवेशन गर्न सम्भव नहुने भएकोले महाधिवशेन पछि धकेल्नुपर्ने बताउन थालेका छन् । उनले नेता पौडेल पक्षसँग अहिले विभाग लगायतका पार्टी संरचना गठन गरेर जाने प्रस्ताव राखेका छन् । ‘पार्टीमा विभाग गठन देखि प्रादेशिक संरचना निर्माणमा कसरी जाने भन्नेमा सभापति अहिले पार्टीभित्रै विर्मशमा हुनुहुन्छ, उहाँ यी संरचना निर्माणको तयारीमा जुटिसक्नुभएको छ,’ देउवा निकट नेता सहमहामन्त्री डा. प्रकाशसरण महतले भने ।
देउवाले १३ औं महाधिवेशनबाट पार्टीको सत्ताको बागडोर सम्हालेको साढे ३ वर्ष बितेपनि विभाग गठन गर्न सकेका छैनन । जसकाकारण उनको पार्टीभित्र र बाहिर चर्काे आलोचना हुँदै आएको छ । विभाग गठनका क्रममा आफनो पक्षका ६० र पौडेल पक्षका ४० प्रतिशत राखेर गठन गर्ने र त्यही अनुसार ४० प्रतिशत नाम दिन पौडेलसँग माग गरिरहेका छन् ।

पौडेल भन्छन्, – ‘अब विभाग होइन, महाधिवशेन नै गरौं’

वरिष्ठ नेता पौडेलले भने साढे ३ वर्ष पार्टीको बागडोर सम्हाल्दा सम्म विभाग गठन गर्न नसकेपछि अब महाधिवेशन तिर लाग्नुपर्नेमा विभाग गठनमा अल्झिनु नहुने जवाफ देउवालाई फर्काएका छन् । पौडेल निकट एक नेताले भने, ‘अब
महाधिबेशन मिति तोक्ने र तयारी गर्न लाग्नुपर्ने बेला विभाग गठनमा अल्झिनु राम्रो होइन, महाधिवेशनमै जाऔं ।’

देउवाले विधानले दिएको सुविधा उपयोग गरेर अझै ढेड वर्ष महाधिवेशन पछि धकेल्न खोजेको पौडेल पक्षको आशंका छ । जसकाकारण पनि पौडेल र कोइराला पक्ष सभापति देउवालाई महाधिवेशनका लागि दबाब दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस