हावाहुरीका घाइतेको उपचार प्रदेश सरकारले गर्ने

शुक्रबार, २४ जेठ २०७६, १३ : ३७
हावाहुरीका घाइतेको उपचार प्रदेश सरकारले गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सम्पूर्णको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णको क्षतिको विवरण संकलन गरी राहत घोषणा गर्ने बताए । ‘अहिले सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । विवरणका आधारमा पीडितलाई राहत उपलब्ध गराइने छ’ उनले भने ।
मन्त्री शाहले हावाहुरीका कारण विद्युत, खानेपानी, टेलिफोनलगायतका सेवा अवरूद्ध भएको बताए । ’राजमार्ग अवरूद्ध छैन । ‘कैलालीको हुलाकी राजमार्गमा रूख ढलेकाले आवगमनमा समस्या भएको छ । सुरक्षा निकायलाई तत्काल सडक आवगमन सुचारू गर्न निर्देशन दिइसकेको छु,’ उनले भने ।
प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । बिहीबार राति आाएको हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने एक सय जना घाइते भएका छन् । 
कैलालीमा हावाहुरीमा परी ७६ र चट्यांगबाट एक गरी ७७ र कञ्चनपुरमा २३ जना घाइते भएका  थिए । घाइतेमध्ये कञ्चनपुरका १५  र कैलालीका ६६ जना सामान्य उपचार गरी घर पठाइएको छ ।
यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितको उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयले पनि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस