अझै तीन दिन मेघ गर्जनसहित वर्षा हुने

हावाहुरीको पनि सम्भावना, मनसुन शुरु हुन दुईसाता लाग्ने

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, ०९ : ५२
अझै तीन दिन मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । केही दिन देखि मौसममा देखिएको परिवर्तन अझै थप केही दिन जारी रहने भएको छ । अझै तीन दिन लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको जलबाष्प र नेपालको पूर्व पश्चिम क्षेत्रमा फैलिएको न्यूनचापीय रेखाका कारण आगामी तीन दिनसम्म वर्षा हुने महाशाखाले जनाएको छ ।

तीन दिन मेघ गर्जनसहित वर्षा र हावाहुरीको पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद् समीर श्रेष्ठका अनुसार, आज आइतबार देशका अधिकांश ठाउँमा हल्कादेखि भारी वर्षा हुने छ । देशैभर आंशिकदेखि सामान्य बदली रहने र केही पहाडी भूभाग तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने उनले बताए ।

यसैगरी सोमबार (भोलि) पनि मौसम खराबनै हुनेछ भने मंगलबार पनि देशका अधिकांश ठाउँमा हल्कादेखि भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ ।

मनसुन सुरु हुन अझै दुईसाता लाग्ने 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सुरु हुन अझै दुई साता लाग्ने भएको छ । भारतको मौसम विज्ञान बिभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि मनसुन भित्रिन ढिला हुने देखिएको हो ।

प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ । भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतका वर्षमा भारतको केरलामा १ जुनमा मनसुन सुरु हुँदा नेपालमा १० जुनमा मनसुन प्रवेश गथ्र्यो तर यसवर्ष अझै केरलामा मनसुन प्रवेश नगरेकाले नेपालमा पनि औसतभन्दा ढिलो गरी मनसुन सुरु हुने मौसमविद्हरुले जनाएका छन् ।
यस वर्षको मनसुनमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । लामो समयदेखिको खडेरी हट्दै गइरहेको र पूर्व्ितर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस