विप्लवका तीन नेता विभूषित हुँदा मोहन वैध किन परेनन् ?

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ०८ : ११
विप्लवका तीन नेता विभूषित हुँदा मोहन वैध किन परेनन् ?

काठमाडौं । सरकारले संविधान निर्माणमा योगदान गरेको भन्द्यै संविधानसभाका दुवै कार्यकालका सभासदलाई संविधान सभा पदकबाट विभूषित गर्ने भएको छ । 
राष्ट्रपति भवन शित्तल निवासमा आज एक विशेष कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले सभासदहरुलाई विभूषण गर्ने कार्यक्रम छ ।
दुवै संविधान सभामा गरी कुल ११ सय ९ जना सभासदलाई त्यस्तो विभुषणबाट विभूषित गर्न लागेको हो । यो पदक नेपाली सेनाले तयार पारेको हो । 
गृह मन्त्रालयका अनुसार, संघीय समावेशी संविधान, पदकमा ७ ओटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह अंकित पदक तयार भएको छ । सरकारले सम्मानित गर्ने व्यक्तिहरुको पहिलो सूचीमा राष्ट्रपति विद्या भण्डारी आफैँ छिन भने दोस्रोमा प्रधानमन्त्री केपी ओलीको नाम छ ।
सम्मानित सूचीमा सरकार आफैँले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द  विप्लव) का तीन जना नेताहरु पनि छन् । विभूषित हुनेमा प्रवक्ता खड्कबहादुर विश्वकर्मा, सन्तोष वुढामगर र उमा भुजेल छन् । 
यी तिनै जना नेता पहिलो संविधान सभाका सांसद थिए । विश्वकर्मा कालिकोट र बुढा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद थिए भने भुजेल समानुपातिक तर्फका सांसद थिए । तेस्रो सूचीमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्व राष्ट्रपति डा रामवरण यादव, पाचौंमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ । त्यसपछि नौ जना पूर्व प्रधानमन्त्रीको नाम छ ।लोकेन्द्रवहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वावुराम भट्टराई र सुशील कोइरालाको नाम छ ।
बहालवाला मन्त्री, मुख्यमन्त्री, पूर्वमन्त्रीपछिका नाम भने वर्णानुक्रमअनुसार राखिएको छ । २०६४ को संविधानसभा सदस्य गायत्री शाह र विश्वनाथप्रसाद यादव भने सम्मानित सूचीमा छैनन् । उनीहरु कुटनीतिक राहदानी काण्ड र ठगी काण्डमा परेका थिए ।
पूर्वमन्त्री जयप्रकाश गुप्ता पनि सूचीमा परेका छैनन् । उनीमाथि भष्ट्राचारी ठहर भइ जेल परेकाले विभूषित नगरिने गृहले जनाएको छ ।
सन्जयकुमार शाह र श्यामसुन्दर गुप्ता पनि छैनन् सूचीमा । उनीहरु बम र अपहरण काण्डमा परेका थिए । पहिलो संविधान सभाका सदस्य रहेका मोहन वैद्य पनि सूचीमा छैनन् । पदावधि नसकिदै राजीनामा दिएकोले उनको नाम नराखिएको गृहको भनाइ छ । तर अहिले पनि भष्ट्राचारको मुद्दा लागेका पूर्वमन्त्रीहरु टेकप्रसाद गुरुङ र वद्री न्यौपाने भने विभूषित हुने सूचीमा परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस