शोकमा डुबेको आरुबोटे : कोही यतिसम्म क्रुर हुन सक्छ ?

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, १३ : ०४
शोकमा डुबेको आरुबोटे : कोही यतिसम्म क्रुर हुन सक्छ ?

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको विभत्स हत्या भएको घटनास्थल हेर्नै नसकिने थियो । 
यति विभत्स तरिकाले ९ जनाको हत्या गरिएको थियो कि, अनुहारभरि धारिलो हतियारको छियैछिया थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार घटनास्थलमा रगतको खोलो बगेको थियो, कसैको अनुहार चिनिने अवस्था थिएन । कुनै शव घरभित्र थियो, कुनै बाहिर थियो । 
घटनास्थल हेर्दा लाग्थ्यो, के मानिस यतिसम्म क्रुर पनि हुन सक्छ ? मान्छेको अनुहारलाई छियाछिया पार्न सक्छ ? त्यसमा पनि नौ/नौ जनालाई ! मकुण्डोधारी समूहले दुई परिवारका सदस्यलाई धारिलो हतियारले छ्याकछ्याक पारेर हत्या गरेको थियो । 
गाउँपालिका अध्यक्ष माखिमका अनुसार ससुुरा र ज्वाइँको परिवारको हत्या भएको हो । उनका अनुसार घटनास्थल ससुरा र ज्वाइँको घर माथि र तल छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको हत्या भएपछि आरुबोटे गाउँ पूरा शोकमा डुबेको छ । स्थानीय भावविह्वल भएका छन् ।
घटना कसले र किन गरेको हो प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।  स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए। यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ । 
हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।
गाउँपालिका अध्यक्ष माकिमका अनुसार घटनास्थल पाँचथरको जिल्ला सदरकुमामबाट ५० किलोमिटरभन्दा बढीको दुरीमा छ । प्रहरीले घटनास्थल सिल गरेको छ । फोटो खिच्न दिइएको छैन । तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
हत्या प्रकरण रहस्यमय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान सुरु भएको छ । ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। त्यहिँ आधारमा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको पाँचथरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस