घरेलु मदिरा बनाउन चप्पल, पिसाब र प्याडको प्रयोग गरेको पाइयो

शुक्रबार, ०३ जेठ २०७६, ११ : ४४
घरेलु मदिरा बनाउन चप्पल, पिसाब र प्याडको प्रयोग गरेको पाइयो

नारायणपुर । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । 

गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो । “सात वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धले समेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो”, वडाध्यक्ष सार्कीले भन्नुभयो, “दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसमा खर्चिनुपर्ने अवस्था आयो ।”

वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म पाँच हजार लिटरभन्दा बढी उत्पादित घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहाङ्गे टोल विकास संस्थाका रिखा घर्तीले बताउनुभयो । “गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराइदिनुपर्ने दैनिक कामजस्तै भयो”, घर्तीले भन्नुभयो, “कति दिन सहने ? सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान शुरु भयो ।”

अभियानको पहिलो दिन दुई हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताउनुभयो । घोराही उपमहानगरपालिका–४ बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको इन्चार्ज बुढाथोकीले बताउनुभयो । 

घरमै उत्पादन गरेर बिक्रीवितरण हुने मदिरामा महिला महीनावारी हुँदा प्रयोग गरिने प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको वडाध्यक्ष सार्कीले बताउनुभयो । नियन्क्रणमा लिएर नष्ट गर्ने त्रममा कच्चा पदार्थ राखिएका ड्रमभित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडा भेटिएको उहाँले बताउनुभयो । साथै कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाबसमेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताउनुभयो ।  

घरेलु मदिराको विरुद्धमा स्थानीय रूपमा सञ्चालन भएको अभियानले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद गरेको थियो भने एक ग्यालिन मानिसको पिसाब सङ्कलन गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । टोल विकास संस्थाका पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र दुई जोर चप्पलसमेत भेटिएको बताउनुभयो । “रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको रहेछ, त्यो फाल्ने क्रममा भेटियो”, उहाँले भन्नुभयो, “एउटा घरमा एक जर्किन मान्छेको पिसाब सङ्कलन गरेर राखिएको थियो ।”

प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुनसक्ने बताएको छ । त्यसका लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारवाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताउनुभयो । वडाध्यक्ष भीमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान शुरु भएको भन्दै यसलाई नियमितरूपमा अगाडि बढाउने बताउनुभयो ।(रासस)
 

प्रतिक्रिया दिनुहोस