भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

भियतनाममा प्रधानमन्त्री ओलीसँग समकक्षी प्रधानमन्त्रीको र पत्नी राधिकासँग त्यहाँकै प्रधानमन्त्री पत्नीको छुटाछुटटै भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १० : ४१
भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले  त्यहाँको प्रधानमन्त्री न्गुएन जुवान फुकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । ओली र फुकवीच शनिवार हनोइस्थित त्यहाँको प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।  

आगामी वर्ष २०२० मा नेपाल भ्रमण वर्षका रुपमा नेपालले वैशाख दिवस आयोजना गर्ने  र त्यही अवसरमा नेपाल भ्रमण गर्नका लागि प्रधानमन्त्री ओलीले भियतनामका समकक्षी फुकलाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार , प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह समेत गदै  भियतनामी प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका ह्न् ।

प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्दा भियतनामी प्रधानमन्त्रीले स्वागत गरेका थिए भने भियतनामी सेनाको एक टुकडीले सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास  र समृद्धिका विविध आयामबारे छलफल भएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उनीहरुबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए ।

दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे  पनि छलफल भयो ।

सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राख्नुभएको भियतनामी अधिकारीले जनाएका छन् । उनले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य र भियतनामी प्रधानमन्त्री फुककी पत्नी ट्रान न्गुयट थुबीच पनि छुट्टै भेटघाट भएको थियो ।

प्रधानमन्त्री ओली भोलि भियतनामवाटै कम्वोडिया प्रस्थान गर्ने कार्यक्रम छ । उनी कम्वोडिया भ्रमण पछि जेठ १ गते मात्र स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस