क्रसर उद्योगले मुहान सुकेपछि खानेपानीको अभाव कायमै

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १६ : ५०
क्रसर उद्योगले मुहान सुकेपछि खानेपानीको अभाव कायमै

चितवन ।  क्रसर उद्योगले पानीको मुहान सुकेपछि कालिका नगरपालिका ६ का करिव ६ सय परिवार खानेपानीको चरम अभाव झेल्दै आएका छन् । मुहान सुकेर खानेपानीको हाहाकार भएको लामो समय भईसक्दा पनि समस्या समाधान नहुँदा स्थानीयको दैनिकी प्रभावित भइरहेको छ । उनीहरुलाई दैनिक रुपमा खानेपानी जोहो गर्न सकस परिरहेको छ । केहिले गाडीबाट अन्यस्थानबाट व्यवस्था गरिरहेका छन् भने केही आफन्तको शरणमा पुगेका छन् । 
खानेपानी समस्याको समाधान गर्न प्रयास भइरहेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि खानेपानी तत्काल व्यवस्थापन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । ‘खानेपानी उपभोक्ताको तर्फबाट ३ जना र क्रसर उद्योगको तर्फबाट २ जना रहेको ५ सदस्ययी समिति गठन गरी खानेपानी तत्काल व्यवस्थापन गर्ने प्रयास भइरहेको छ’ मेयर श्रेष्ठले भन्नुभयो । 
मेयर श्रेष्ठले तत्कालका लागी बोरिङबाट भए पनि खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘दीर्घकालीन खानेपानी व्यवस्थापन थप छलफल गरी गर्नुपर्छ श्रेष्ठले भन्नुभयो, ‘तर तत्कालको अभाव टार्न बोरीङनै उपयुक्त देखिन्छ ।  
सुकेको मुहान फेरि फर्काएर संरक्षण गर्नुपर्ने स्थानीयको माग रहेको छ । यसवारे प्राविधिकको सल्लाहसहित थप अनुसन्धान गरी दीर्घकालीन समस्याको समाधान खोजी गरिने उहाँको भनाइ छ ।उहाँले अब उक्त क्रसर उद्योग त्यहावाट हटाइने बताउनुभएको छ ।  खानेपानीको मुहान नै सुकाउने गरी स्थापना गरिएको उद्योग मापदण्डविपरीत रहेकाले तत्कालै त्यहाँबाट हटाइने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस