प्रधानमन्त्रीको ‘निम्छरो’ शब्द :  संसदको अभिलेखबाट यसरी हट्यो

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १२ : ५३
प्रधानमन्त्रीको ‘निम्छरो’ शब्द :  संसदको अभिलेखबाट यसरी हट्यो

काठमाडौँ । गएको मंगलबार संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिए । प्रधानमन्त्रीको जवाफमा फेरि कांग्रेस सांसदहरुले प्रश्न तेर्साएका थिए । सांसदहरुले तेर्साएको प्रश्नको जवाफ दिन रोस्ट्रम पुग्नुभएका पधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिको वास्ता नगरी अन्य प्रश्नहरुको जवाफ दिन्छु’ भनेपछि संसदमा हंगामा हुन पुग्यो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठाएका जिज्ञासालाई आक्रोश, कुण्ठा भनेर प्रधानमन्त्रीले अपमान गरेको भन्दै नाराबाजी गरे । कांग्रेस सांसदहरु उठेर टेबल र माइक ठटाउन थाले। कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले पदीय गरिमा नराखेको भन्दै चर्को विरोध गरे ।
कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग पनि गरेका थिए । तत्काल सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएनन् । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले विभिन्न सभा समारोहमा सभामुख महरालाई डरपोक र काँतर सभामुख भनेर खुब आलोचना गरे । 
अन्तत: हट्यो प्रधानमन्त्रीको ‘निम्छरो’
सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले सोधेको र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएको संसदीय मर्यादा विपरितका शब्दहरु संसदको अभिलेखबाट हटाउन सभामुख महराले निर्देशन दिएलगत्तै हटेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले यसअघिको बैठकमा प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका संसदीय मर्यादा विपरितका शब्द हटाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए । सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।
संसद बैठक सुरु हुनासाथ सभामुख महराले भने, ‘‘नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको शव्दका बारेमा भएको ध्याानाकर्षणको विषयमा केही भन्न चाहन्छु । सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शव्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’
सभामुखले निर्देशन जारी गरे लगत्तै नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्री मात्र नभइ अन्य सदस्यहरुले व्यक्त गरेको गैर संसदीय शव्दहरु रेकर्डबाट हटाउन ध्यानाकर्षण गराए ।
सभामुखको रुलिङप्रति हाम्रो सम्मान छ तर त्यसदिन संसदमा गैर संसदीय शव्दहरु धेरै रेकर्ड भएका छन्’ नेकपा सांसद अधिकारीले भने, ‘ती शव्दहरु रेकर्डबाट हट्नुपर्छ ।’ त्यसपछि सभामुख महराले सांसदहरुको जिज्ञासाको क्रममा भन्ने शव्द प्रयोग गरिएको र यसले सबैलाई सम्बोधन गर्ने जवाफ दिए ।
सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्रीले संसदीय मर्यादा विपरितको शब्दको प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस