भरतपुरका २७ हजार ग्राहकलाई शुद्ध खानेपानी

अनलाइन प्रविधिबाटै महसुल भुक्तानी

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १४ : २७
भरतपुरका २७ हजार ग्राहकलाई शुद्ध खानेपानी

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले भरतपुर महानगरका २७ हजार ग्राहकलाई शुद्ध खानेपानी वितरण गरेको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले अब २७ हजार ग्राहकले पानीको महसुल भुक्तानी अनलाइन प्रविधिबाट गर्न सक्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘अब घन्टौँ लाइनमा बसेर पानीको महसुल बुझाउने झन्झटबाट हामी सबै मुक्त भएका छौँ ।’ उहाँले मोबाइलबाट एप्स डाउनलोड गरेर पानीको महसुल भक्तानी गर्न सकिने बताउनुभयो । यसबाहेक ई–सेवाबाट महसुल भुक्तानी गर्न सकिने छ । बोर्डका विभिन्न काउन्टरबाट पनि ग्राहकले रकम भुक्तानी गर्न सक्नेछन् । 
कार्यकारी निर्देशक दाहालले भन्नुभयो, ‘समय र श्रम बचतको लागि अनलाइन प्रविधिबाटै महसुल रकम भुक्तानी गर्ने काम यही वैशाख १५ गतेबाट सुरु भइसकेको छ ।’ पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दाहालले प्रविधिमैत्री सेवाको भरपुर उपभोग गर्दै यस सम्बन्धमा आफ्ना अमूल्य राय, रचनात्मक सुझावको समेत अपेक्षा गर्नुभएको थियो ।  
दाहालले भन्नुभयो, ‘एक सय रुपैयाँ खानेपानीको महसुल बुझाउन अब एक सय रुपैयाँ नै खर्च गरेर आउन पर्दैन, घरमै बसेर मोबाइलबाट महसुल बुझाउन सक्नुहुन्छ, या नजिकै रहेको ई–सेवाबाट भुक्तान गर्न सक्ने छन् ।’  भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी सदस्य विश्वनाथ ओझाले भन्नुभयो, ‘विश्व प्रविधिमैत्री छ, ग्राहकको माग र चासो बढेको थियो, ढिलै भए पनि महसुल भुक्तानीमा प्रविधि भित्र्याएका छौँ, सबै ग्राहकले प्रविधिको भरतपुर उपभोग गर्न सक्नुहुनेछ ।’
बोर्डका अनुसार भरतपुर महानगरमा ४३ प्रतिशत अर्थात् एक लाख ५१ हजार जनसंख्यामाझ शुद्ध खानेपानी पुगेको छ । उपभोक्तामाझ खानेपानी पुगेको छ । दैनिक २ करोड ३५ लाख लिटर पानी उत्पादन भइरहेको छ । जसमध्ये २ करोड ५ लाख लिटर पानी बिक्री भइरहेको छ । वर्सेनि झन्डै २ हजार बढी ग्राहकहरु थपिएका बोर्डका कार्यकारी निर्देशक दाहालले बताउनुभयो ।  
भरतपुर खानेपानी व्यवस्थापन बोर्ड भरतपुर महानगरपालिकाभित्रका बासिन्दाहरुलाई व्यवस्थित, शुद्ध र नियमित खानेपानी व्यवस्थापन गर्ने जुटिरहेको छ । 
‘मुख्य गरेर हाम्रो कार्यक्षेत्र भनेको भरतपुर महानगरपालिका हो । महानगरभित्र सम्पूर्णलाई खानेपानी व्यवस्थापन गर्ने हामी लागिरहेका छौँ । हामी यतिबेला भरतपुर महानगरको पश्चिमी क्षेत्रमा खानेपानी वितरणमा जुटेका छौँ । मंगलपुर, गीतानगरसम्म हामी पुगिसकेका छौँ । विस्तारै सेवा फराकिलो बनाइरहेका छौँ’ दाहालले भन्नुभयो ।
त्यस्तै भरतपुर महानगरपालिकाको दक्षिणी क्षेत्र मेघौली, शुक्रनगर, जगतपुर, दिव्यनगरलगायतका क्षेत्रहरुमा नेपाल सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत जिल्लास्थित कार्यालयबाट योजनाहरु संचालन भई सम्बन्धित उपभोक्ता संस्थाहरुलाई हस्तान्तरण गरी उपभोक्ता संस्थाहरुले त्यहाँ खानेपानी संचालन गरिरहेका छन् । 
भरतपुर महानगरको पानीको शुद्धीकरणमा कुनै समस्या छैन । कुनै समय भरतपुर महानगरको पानीलाई जाइकाले गुणस्तरको एक नं मा राखेको थियो । 
‘हामीले गुणस्तरमा ध्यान दिएका छौँ । हुन त हामीसँग स्रोत साधनको अभाव छ, तर पनि हामी शुद्ध पानीमा बढी ध्यान दिइरहेका छौँ’ बोर्डका कार्यकारी सदस्य निरप्रसाद लामिछानेले भन्नुभयो ।  
बोर्डले वितरण गर्ने पानीको मुख्य स्रोत भनेको जमिनमुनिको पानी हो । कुनै झरना अथवा खोलाबाट लिइएको होइन । गहिरो डिप बोरिङबाट आउने पानीलाई नै शुद्धीकरण गरेर घरघरमा पु¥याइएको छ । अहिले बोर्डसँग करिब ३५ वटा डिप बोरिङ छन् । डिप बोरिङ थप्नलाई जग्गाको अभाव भएको छ । २०६४ भदौ ३१ गते भरतपुर खानेपानी व्यवस्थापन बोर्ड गठन भएको छ । 
 

प्रतिक्रिया दिनुहोस