परीक्षा दिँदादिँदै छोरी जन्मिएपछि ...

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १६ : ३७
परीक्षा दिँदादिँदै छोरी जन्मिएपछि ...

काठमाडौं । यो खबर सुदूरपश्चिमको बैतडी जिल्लाको हो । बुधबार बिहान कक्षा १२ को परीक्षाको आठौं दिन थियो । परीक्षा दिनु पर्ने विषय थियो शैक्षिक मूल्यांकन । परीक्षा दिँदादिँदै सुत्केरी व्यथा लागेपछि विद्यालयसँगै जोडिएको स्वास्थ्य चौकीमा परीक्षार्थीले छोरी जन्माएकी छिन् ।
प्राप्त जानकारी अनुसार, बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर २ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा २४ वर्षीया परीक्षार्थीले बच्चा जन्माएकी हुन् । शिवनाथ गाँउपालिका वडा नम्बर ६ कि मिना धनाडीलाई परीक्षा हलमै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरी जन्माएकी हुन् । 
परीक्षामा ३ वटा प्रश्नको उत्तर लेख्न नपाउँदै धनाडीलाइ सुत्केरी ब्यथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माएको शिक्षक गोपालसिंह महताले जानकारी दिनुभयो ।
अहिले  आमा र बच्चाको अवस्था राम्रो रहेको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताउनुभयो । विद्यालयसँगै स्वास्थ्यचौकी जोडीएको हुनाले कुनै समस्या नभएको र दुवैजनाको हेरविचार स्वास्थ्यचौकीमै भइरहेको उहाँले बताउनुभयो ।
छुटेको परीक्षा पछि दिन लगाउने वातावरण निर्माण गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । छुटेको परीक्षा दिन सक्ने भए व्यवस्था मिलाउने र परीक्षा हलमा समस्या हुने भए स्वास्थ्य चौकीमै परीक्षा दिने वातावरण बनाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस