एसईईको प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी पुर्पक्षका लगि कारागार चलान

सोमबार, २३ बैशाख २०७६, १२ : २२
एसईईको प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी पुर्पक्षका लगि कारागार चलान

काठमाडाैँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ ।

सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । बाँकी ६ जनालाई भने धराटीमा रिहा गर्न आदेश दिइएकाे छ ।

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए । दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।

प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो ।

भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक मनोजलाई पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।

प्रतिक्रिया दिनुहोस