जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी

आमा के दिऊँ उपहार ? (फोटो फिचर)

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १२ : ३३
आमा के दिऊँ उपहार ? (फोटो फिचर)

चितवन । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।
शास्त्रमा उपाध्याय, पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उहाँका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’ 
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’
औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गरिन्छ । गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।


 


 

प्रतिक्रिया दिनुहोस