हावाहुरीको त्रासले पठनपाठन प्रभावित

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १६ : ३३
हावाहुरीको त्रासले पठनपाठन प्रभावित

चितवन । आज बिहान आएको हावाहुरीका त्रासले चितवनका केही विद्यालयका पठनपाठन प्रभावित भएको छ । 
विभिन्न अनलाइन मिडियाहरुमा ठूलो हावाहुरी आउने र फानीको समेत सम्भावना रहेको खबर सार्वजनिक भएपछि चितवनका संस्थागत तथा सरकारी विद्यालयहरुको पठनपाठन प्रभावित बने । केही विद्यालय सञ्चालन भएपनि विद्यार्थी संख्याको उपस्थिति अत्यन्तै न्यून छ ।  
विहानै विभिन्न अनलाइन सञ्चारमाध्यममा हावाहुरी र भारी वर्षाको समाचार तथा प्रशारण भएपछि विद्यालय सञ्चालकहरुले डरले स्वतस्फूर्त विद्यालय बन्द गरेको प्याव्सन चितवनका अध्यक्ष टीकाराम चापागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्याव्सनले बन्द गरेको छैन ।’ उहाँले अभिभावकले आप्mना बालबालिकालाई विद्यालय नपठाउँदा पनि पढाइ प्रभावित भएको बताउनुभयो । 
नारायणी नमुना माविका निमित्त सहप्राचार्य टेकनाथ पौडेलले मावि, निमावि तहका विद्यार्थी आए पनि साना कक्षाका विद्यार्थीहरु ५० प्रतिशत कम आएका र पढाइ नियमितजसरी नै चलेको बताउनुभयो । 
फानीको सम्भावना छैन 
जल तथा मौसम पूर्वानुमान महाशाखाले समुद्री समुद्री आँधी ‘फानी’ को सम्भावना नरहेको जानकारी गरएको छ । फानी नै नेपाल आउने सम्भावना भने कम छ ।
बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपालसम्मै आउने सम्भावना तत्काल छैन ।


 

प्रतिक्रिया दिनुहोस