चितवनको आदिकवि भानुभक्त माविमा शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १४ : ३०
चितवनको आदिकवि भानुभक्त माविमा शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

चितवन । कक्षामा साथीसँग कुरा गरेको आरोपमा चितवनको भरतपुरस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका एक विद्यार्थीलाई शिक्षकले निलडाम हुने गरी पिटेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको सो विद्यालयका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुबिन सुनारले साथीलाई किताब दिने क्रममा कुरा गरेको भन्दै बिहीबार दिउँसो शिक्षकबाट पिटीएका हुन् । 
विद्यालयका ‘सामाजिक अध्ययन’ पढाउने शिक्षक निराजन भट्टले हातको प्रयोग गरी १० पटकभन्दा बढी हनेका थिए । त्यसपछि सुनारलाई सह–प्रध्यापकको कोठामा पुनः फ्लेक्स झुण्डाउन प्रयोग गरिने पाइपले पिटेको पीडित विद्यार्थीले बताए ।
पीडित विद्यार्थीका अनुसार बिहीबार ६ औँ घण्टीमा उनका साथी कृष्णलाई पेट दुखेपछि ‘क्लास टिचर’ लाई जानकारी गराएर कृष्ण घर जाने क्रममा पीडितले कृष्णका २ वटा किताब उनलाई दिएका थिए । 
त्यसपछि शिक्षक निराजन भट्टले अनुशासन तोडेको र कक्षामा हल्ला गरेको भन्दै उनीमाथि खनिएको पीडित विद्यार्थीको भनाइ छ ।
उनको ढाँडमा निल डाम देखिएको छ । शिक्षा नियामवलीमा विद्यार्थीलाई बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालको हितका लागि सामान्य पिटाइलाई यातनापूर्ण व्यवहार गर्न नमिल्ने उल्लेख छ ।
पीडक शिक्षकले भने विद्यार्थीलाई अनुशाशित बनाउने क्रममा पिटाई गर्न पुगेको बताए । शारीरिक कुटपिट गर्न नहुने भएपनि आवेशमा घटना हुन पुगेको उनको भनाई छ ।
भट्ट यसअघि पनि अन्य विद्यार्थीलाई पनि कुटपिट गर्दै आइरहेको त्यहाँका विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुलाई अनुशाशित बनाउने नाममा कुटपिट हुनु दुःखद रहेको विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद सापकोटाले बताए । पीडक शिक्षकले आफ्नो गल्तीको महशुस गरी सकेकाले विद्यालयले अन्य कारबाही अघि नबढाएको उनको बताए ।
आगामी दिनमा यस्तो घटना हुन नदिने भन्दै विद्यालयका सम्पूर्ण शिक्षकलाई सतर्क गराउने उनले प्रतिवद्धता व्यक्त गरे । 
पीडितका अभिभावक र विद्यालयबीच पीडित विद्यार्थीलाई सम्पूर्ण उपचार शिक्षक भट्टले वेहोर्ने र आगामी दिनमा यस्तो प्रकृतिको घटना नदोहो¥याउने सहमति भएको छ ।
पीडितका बुबा धनप्रसाद सुनारले अन्य विद्यार्थीहरु माथि यही घटना नदोहोरियोस् भन्ने उद्देश्यले विद्यालयलाई सचेत बनाएको बताए । आदिकवि भानुभक्त माध्यामिक विद्यालय नेपालकै सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो । 
 

प्रतिक्रिया दिनुहोस