आज मजदुर दिवस

मजदुर दिवसमा कसले के दिए सन्देश ?

कार्यवाहक राष्ट्रपतिदेखि प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुले दिए शुभकामना सन्देश

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, ०७ : ५५
मजदुर दिवसमा कसले के दिए सन्देश ?

काठमाडौं। एक सय ३० औं मजदुर दिवसका अवसरमा कार्यबाहक राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् । श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर दिवसका रुपमा मनाउने गरिएको छ । आजको दिनले श्रमिक वर्गलाई पेशागत हकहित र अधिकारका लागि संगठित हुने, संघर्ष गर्ने र एकताबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गरेको दिनको रुपमा नेपालमा पनि स्मरण गर्ने र विविध कार्यक्रम गरी मनाइदै आएको छ ।
यस अवसरमा कार्यबाहक राष्ट्रपतिको समेत जिम्मेवारीमा रहेका उपराष्ट्रपति नन्दवहादुर पुनले श्रमिक मजदुरहरुको हक हितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन भएमामात्रै पनि मजदुरहरुको धेरै अधिकार प्राप्त हुने बताएका छन् । मजदुर दिवसको अवसरमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश उपराष्ट्रपति पुनले जारी गरेका छन् ।
उपराष्ट्रपतिको आज्ञाले प्रेस संयोजक मनोज घर्तीमगरले एक वक्तब्य जारी गदै नेपाली श्रमजिवि वर्गले लामो समयदेखि अनेकन समस्या भोग्दै र संघर्ष गर्दै आएको र हाम्रो संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै श्रमिक मजदुरहरुको हक हितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन भएमामात्रै पनि मजदुरहरुको धेरै अधिकार प्राप्त हुने बताएका हुन् । ‘श्रमजिवि वर्गले अधिकार प्राप्त नगरेसम्म र श्रमजिवि वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव छैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सबै श्रमजिवि वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्दछ । ’ उपराष्ट्रपतिको शुभकामना सन्देशमा छ ।
 
प्रधानमन्त्री केपी ओलीले सरकार स्वदेशमै  जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् । श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
  आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले  मे १ तारिकालाई गौरवमय दिनको संज्ञा दिएका छन् ।
 
प्रधानमन्त्री ओलीले सन्देशमा यस गौरवमय दिनको अवसरमा  विश्वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।
 
नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च सम्मान प्रकट गरेका छन् ।
“राजनीतिक–सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन् ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “ मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक–सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु । ”
सरकारले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा  श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा  ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “ श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छ  ” प्रधानमन्त्री ओलीको सन्देशमा भनेका छन्, “पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक बर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ   ।”
 प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचिकरण गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
 
प्रधानमन्त्रीले आफ्नो सन्देशमा  रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको समेत जानकारी दिए ।
 
“ न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक बेरोजगार परिवारका लागि एकजना श्रमिकलाई एक सय दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यन्वयन गर्न समेत कार्य प्रारम्भ भइसकेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।
 
त्यस्तै, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्ने दिशामा लैजानु अबको लक्ष्य हुने बताएका छन् ।
 
१३० औं विश्व मजदुर दिवसको अवसरमा श्रमजीवि मजदुरहरुलाई सुभकामना दिँदै अध्यक्ष प्रचण्डले यो लक्ष्य लिनु आफैमा एउटा युगान्तकारी कार्य भएको समेत बताएका छन् । ‘परिवर्तनपछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, –‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ ।’
 
उनले विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकताबद्ध भई अगाडि बढ्ने विश्वास समेत वक्तब्यमार्फत लिएका छन् ।
 
प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
 
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, १० वर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र आएको अध्यक्ष प्रचण्डको भनाई छ ।
 
त्यसैगरी सभामुख कृष्णवहादुर महराले श्रमजीवि मजदुरहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले अब पहलकमदी लिनुपर्ने भन्दै श्रमिक दिवसको अवसरमा सवैलाई शुभकामना दिएका छन् । उनले हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको र श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने आफुले विश्वास लिएको बताएका छन् ।

‘हामीले श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौं नेपाली श्रमिकहरु न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको तीतो यथार्थ हाम्रा सामू रहेको छ । श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी उनीहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र श्रमिकहरुलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्नुहुँदैन ।’ सभामुख महराको वक्तब्यमा भनिएको छ, –‘त्यसका लागि आवश्यक नीतिगत व्यवस्था तथा व्यवहारिक रुपमा कार्यान्वयनको पक्षलाई कठाइका साथ अघि बढाउन जरुरी छ । ’

प्रतिक्रिया दिनुहोस