विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धरौटीमा रिहा

बुधबार, ११ बैशाख २०७६, १८ : ३८
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धरौटीमा रिहा

पर्वत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा हुनुभएको छ । अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई कुश्मा नगरपालिका–१२ ठूली पोखरीबाट गत चैत १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । ठूलीपोखरी लगायतका क्षेत्रमा सङ्गठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरीचौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालत पर्वतका न्यायधीश सूर्यबहादुर थापाको इजालसले उहाँलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस