पर्यटन वर्ष सफल पार्न चितवनका होटल व्यवसायी अग्रसर

मंगलबार, १० बैशाख २०७६, १७ : ३५
पर्यटन वर्ष सफल पार्न चितवनका होटल व्यवसायी अग्रसर

चितवन । होटल व्यवसायी संघ चितवनले कार्ययोजना तयार गरेको छ । माडी नगरपालिका–८ शिवद्वार होमस्टेमा दुई दिन चलेको कार्ययोजना तर्जुमा तथा गोष्ठीमा जनशक्ति विकासका कार्यक्रम उच्च प्राथमिकतामा परेका छन् । शर्मिला न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि संघले २ वर्षसम्म गर्ने कार्यक्रमको सूची तयार पारेको हो ।
समितिले २१ वटा कार्यक्रम गर्ने निर्णय भएको छ । संगठनात्मक विस्तार, व्यवसायीक क्षमता विकास, प्रशासनिक क्षमता विकास लक्षित योजना छनौट भएका छन् ।

“जनशक्ति अभाव छ, दक्ष कर्मचारी चाहिएको छ”, संघका पूर्वअध्यक्ष तथा कार्ययोजना तयार समितिका संयोजक इमान्दु बरालले भने, “छोटो अवधिका तालिम सबै इकाईहरुमा सञ्चालन गरिनेछ, तालिम प्रदायक संस्थासँगको सहकार्यमा मासिक वा त्रैमासिक तालिममा समेत समन्वय गरिनेछ ।” उनका अनुसार कुक, वेटर, बारमेन, हाउसकिपिङ लगायतका तालिम निःशुल्क चलाइनेछ । यस्तो लामो अवधिका तालिमको अवसर समेत दिइनेछ । मुग्लिन, रामनगर (सिमलताल), नारायणगढ बसपार्क, नारायणगढ बजार, भरतपुर, कृष्णपुर, शिवघाट, माडी इकाईमा आवद्ध व्यवसायीलाई तालिम दिइने छ । “घरपरिवारकै सदस्यबाट अधिकाँसले व्यवसाय चलाएका छन्”, उनले भने, “अब दक्ष जनशक्ति तयार गर्दै व्यवसायीक क्षमता विकास गरिनेछ ।” संघका पूर्वअध्यक्ष डासिराम ढकालले रजत महोत्सवको तयारी समेत सुरु भएको बताए ।

“२५ वर्षे अनुभव संघले लिदैछ”, उनले भने, “रजत महोत्सवलाई भव्य सफल पार्न तयारी गरेका छौँ ।” उनका अनुसार २०७७ कार्तिक १५ गते संघले २५ वर्ष प्रवेश गदैछ । संघका अध्यक्ष शर्मिला न्यौपानेले पर्यटन वर्षलाई सघाउने गरी योजना छनौट भएको बताइन् । “चितवनका पहिचान भएका गन्तव्यहरुको सूची अब हरेक होटलमा राखिनेछ”, उनले भनिन्, “स्वदेशी तथा विदेशी पाहुनालाई ती गन्तव्य जान प्रोत्साहन गरिनेछ ।” उनले संघमा आवद्ध व्यवसायका काउण्टरमा पर्यटन वृत्तचित्र राखिने योजना बनेको बताइन् । उनले शिवघाट नजिकैको काभ्रेघाटमा सञ्चालनमा आउन लागेको पानीजहाज (जलमार्ग) लाई मुग्लिनबाटै चलाउने गरी पर्यटन प्रवद्र्धनमा सहकार्य गरिने बताइन् ।

संघका पूर्वअध्यक्ष कमल शर्माले होटल व्यवसायमा नियमित चाहिने मिनरल वाटर, नेपकीन लगायतका सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना रहेको बताए । “संयुक्त लगानीमा त्यस्ता उद्योग चलाउने बहस सुरु भएको छ”, उनल भने, “रोजगारी पनि सृजना हुन्छ, व्यवसायीक क्षमता पनि विकास हुन्छ ।” संघले रक्तदान, स्वास्थ्य शिविर, अन्र्तक्रिया लगायतका कार्यक्रम समेत गर्ने क्यालेण्डर बनाएको छ । व्यवसायीको हकहितका लागि बहस पैरवीका कार्यक्रम समेत गरिनेछ ।

सबै होटलमा कार्यरत कर्मचारीको अभिलेख बनाएर सामाजिक सुरक्षा ऐन अनुसारको वृत्ति विकास दिने योजना समेत ल्याएको छ । कार्ययोजना गोष्ठीमा कानुनी सल्लाहकार गोपीलाल देवकोटा, उवासंघ चितवनका पूर्व बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले सहजिकरण गरेका थिए । गोष्ठी उद्घाटन सत्रमा बोल्दै उवासंघ चितवनका तृतिय उपाध्यक्ष भोजराज कौडालले व्यवसायीको हकहितका लागि संघ लागिपर्ने बताए । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीमा होटल व्यवसाय गर्न चाहनेलाई नगरपालिकाले सहुलियतका योजना ल्याएको बताए । माडीमा ठुला रिसोर्ट स्थापना भएमा माडीका पर्यटक चहलपहल बढ्ने उनको भनाई छ । होल व्यवसायी संघ चितवनमा ६ सय व्यवसायी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस