नेपालकै पहिलो वातावरणमैत्री कार्यालय जिसस चितवन गाँजा पार्कमा परिणत

बुधबार, ०४ बैशाख २०७६, १६ : १८
नेपालकै पहिलो वातावरणमैत्री कार्यालय जिसस चितवन गाँजा पार्कमा परिणत

भरतपुर । २०७३ असार २६ गते पूर्वउपप्रधान मन्त्री कमल थापाले तत्कालिन जविस चितवन परिसरभित्र महिलाले कूचो समातेको प्रतिमूर्ति अनावरण गरी नेपालकै पहिलो वातावरणमैत्री कार्यालय घोषणा गरे ।
त्यसबेला कार्यालय चिटिक्क परेको बेहुली जस्तै देखिन्थ्यो । फूलैफूलको बगौचाँ, सरसफाईयुक्त, रङ रोगन पनि त्यस्तै । कार्यालयले तीन वर्षको अथक प्रयासमा वातावरणमैत्री हुनलाई मुख्य गरी १० सूचक र ४४ विस्तारित सूचक पार गरेको थियो । कार्यालयलाई त्यती सम्म पु¥याउन त्यति बेलाका चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले ठूलो मिहिनेत गरेका थिए । 
दुई वर्षअघिको सो कार्यालय र अहिले भने बिलकुल फरक छ ।
अहिले त्यही कार्यालय गाँजा पार्कमा परिणत भएको छ । तत्कालिन जिल्ला विकास समितिको अधिकार स्थानीय तहमा गएपछि खाली खाली जस्तै बनको हालको जिल्ला समन्वय समिति चितवन थप जीर्ण बन्दै गएको छ । 
कार्यालयका भवनहरुमा पिपलको रुख, निउँरो र अन्य झारहरु उम्रिएका छन् । कार्यालयको पार्कमा गाँजा र अन्य झारहरु उम्रिएर झाँडी बनेको छ । यसअघि लोकतन्त्र वा गणतन्त्र दिवसको दिनमा कार्यालय सरसफाई पनि गरिएको थियो । तर कार्यालयको हेलचक्राईका कारण कार्यालय कुरुप बन्दै गइरहेको छ ।
जिल्ला समन्वय समितिको काम स्थानीय निकाय तथा सरकारी कार्यालयसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । सबै गर्नुपर्ने काम गरेको छ । तर कार्यालयलाई आफ्नो परिसर सफा गर्ने फुर्सद भनेको छैन । अझ भनै झाँडी सफा गर्ने ध्यान छैन ।
आज भोली कार्यालयको हलमा जिल्लाका संघसस्थाहरुले आफ्ना कार्यक्रमहरु गर्ने गरेका छन् ।  कार्यालयका अन्य कोठाहरु भने प्रयोग बिहिन जस्तै छन् । कुनै समय निकै चहलपहल हुने सो कार्यालय दिन प्रति दिन जीर्ण हुँदै जाँदा पनि त्यहाँका पदाधिकारी भने सरसफाईतिर ध्यान दिएका छैनन । यस कार्यालयका पदाधिकारीले झाँडीलाई देखेर पनि नदेखेको जस्तै गर्ने हो भने राणा शासनका बेला बनेका दरबारको जस्तै हालत हुने पक्का छ ।
 

प्रतिक्रिया दिनुहोस