अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

एजेन्सी

आइतबार, २४ चैत्र २०७५, १६ : १८
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

वासिङ्टन  । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् ।

उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । 
यस्तै २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेका र गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ । उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ । 

यस वर्षका तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ११ प्रतिशत बढी हो ।(रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस