इथियोपिया दुर्घटनापछि कम्पनीले घटायो बोइङ ७३७ मोडलको विमान उत्पादन

एजेन्सी

शनिबार, २३ चैत्र २०७५, १२ : ४२
इथियोपिया दुर्घटनापछि कम्पनीले घटायो  बोइङ ७३७ मोडलको विमान उत्पादन

- बीबीसी
इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ।

एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ।

बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो।

इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए।

समस्या
प्रारम्भिक अनुसन्धानहरूले विमानलाई धेरै ठाडो हुनबाट रोक्ने 'एन्टिस्टल' प्रणालीमा समस्या भएको देखाएपछि सो मोडलका जेटहरू अहिले उडानबाट हटेका छन्।

गत मार्चमा एथियोपियन एअरलाइन्सको ७३७ म्याक्स मोडलको विमान आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परी विमानमा सवार सबै १५७ जनाको ज्यान भएको थियो। तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन्।

पाँच महिनाअघि इन्डोनेशियाको लायन एअरको सोही मोडलको विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खसेको थियो।
उक्त दुर्घटनामा परी १८९ जनाको ज्यान गएको थियो।

प्रारम्भिक अनुसन्धानले देखाएअनुसार दुवै घटनामा विमानचालकहरूले 'एन्टिस्टल' प्रणालीमा समस्या खेपेका थिए।

चालकदलले विमानको चुच्चो माथितिर सोझ्याएर त्रुटि सच्याउन खोजे पनि सो प्रणालीले विमानलाई तलतिर धकेलिदिएको थियो।
इथियोपियन एअरलाइन्सका अधिकारीहरूले बिहीवार जारी गरेको एउटा प्रतिवेदनअनुसार उडान ईटी३२० का विमान चालकहरूले दुर्घटनाअघि बोइङले सुझाएका प्रक्रियालाई पटकपटक अवलम्बन गरेका थिए।

के भन्छ बोइङ?

"हामीलाई थाहा छ कि लायन एअरको उडान ६१० र इथियोपिन एअरलाइन्सको उडान ३०२ विभिन्न घटनाहरूको शृङ्खलापछि भएका थिए। दुवै घटनाबीच समानता भनेको 'एन्टिस्टल' प्रणालीमा देखिएको समस्या हो," बोइङका अध्यक्ष एवम्‌ प्रमुख कार्यकारी अधिकृत डेनिस मुलन्बर्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

"यो जोखिम हटाउने जिम्मेवारी हाम्रै हो र त्यो कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ।"

उनले बोइङले विमानको मन्युभ्रिङ क्यारिक्टरिस्टिक्स ओग्मेन्टेशन सिस्टम (एमसीएएस) सफ्टवेअरलाई अद्यावधिक गर्ने काममा प्रगति भइरहेको र उक्त विमानका चालकका लागि तालिमबारे टुङ्गो लगाउन लागिएको बताए।

बोइङले ७३७ म्याक्स मोडलको विमानलाई उड्दाउड्दै रोकिन नदिन सो (एन्टिस्टलिङ) सफ्टवेअर विकसित गरेको थियो।

उनले भने, "हामीले यी कामहरू जारी राखिरहँदा ७३७ मोडलका विमान हस्तान्तरण रोकिएपछि अस्थायी रूपमा त्यससँग उत्पादनको सामञ्जस्य मिलाइरहेका छौँ जसले अतिरिक्त स्रोतसाधनलाई सफ्टवेअरको प्रमाणीकरण तथा म्याक्स मोडलको पुनः उडान गराउनमा केन्द्रित हुन सघाउनेछ।"

हाल दिइएको रोजगारीलाई कायम राखिने वक्तव्यमा भनिएको छ।

"हामीले बनाउने विमानहरूको डिजाइन र विकासका नीति तथा प्रक्रिया अध्ययन गर्न एउटा नयाँ समिति गठन गरिँदैछ।"

बोइङले कस्ता अप्ठ्यारा झेलेको छ?
मार्च १० मा एथियोपियन एयरलाइन्सको ईटी३२० दुर्घटनामा परेपछि विश्वभरि ७३७ म्याक्स मोडलका विमान उडानबाट हटाइएका छन्।
पछिल्लो पटक म्याक्स मोडलको विमानलाई हटाउन निर्देशन दिने ठूला नियामक निकायमध्ये संयुक्त राज्य अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) एक हो।

ढिलो गरेर त्यस्तो निर्देशन दिएको भन्दै बोइङसँग धेरै नजिक भएको आरोप पनि उसले झेल्नुपर्‍यो।


ती विमानहरू उडानबाट पहिल्यै किन हटाइएनन् भनेर प्रश्न गरिँदैछ।

म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि तिनीहरूलाई राख्ने ठाउँको अभाव हुन थाल्यो।

वक्तव्यपछि बोइङको शेअर मूल्य एक प्रतिशतले घट्यो।

पीडितले कसरी प्रतिक्रिया जनाएका छन्?
दुवै घटनामा भएको मानवीय क्षतिका लागि बोइङले बिहीवार क्षमायाचना गरेको छ।

तर यसले पीडितका धेरै आफन्तको चित्त बुझाउन सकेको छैन।

सो मोडलका विमानहरूलाई सेवाबाट पहिल्यै किन हटाइएन भनेर उनीहरूले प्रश्न गरिरहेका छन्।

विमानका प्रमुख चालकका बुवा डा. गेटाचिव टेसेमाले बीबीसीका इम्यानुएल इगुन्जालाई भने, "क्षमायाचना निकै थोरै र ढिलो गरी आएको छ।"

उनका छोरा २९ वर्षीय यारेड गेटाचिउसँग दुर्घटनामा मारिएका बेलासम्म आठ हजार घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो।

उनले बीबीसीलाई भने, "म आफ्नो छोरा र अरू चालकप्रति गर्व गर्छु। अन्तिम समयसम्म उनीहरूले सङ्घर्ष गरे तर दुर्भाग्यवश उनीहरू सफल हुन सकेनन्।"
"ऊ विमानचालक भएकोमा मलाई कुनै पछुतो छैन। कर्तव्य निर्वाह गर्ने क्रममा उसको ज्यान गयो।"

इन्डोनेशियामा भएको दुर्घटनापछि ७३७ मोडलका विमानको उडान बोइङले किन बन्द नगरेको भन्दै डा. टेसेमाले दुर्घटनाका लागि सो कम्पनीमाथि सिधै आरोप लगाए।

"किन उनीहरूले उडानलाई जारी राख्न दिए? किनकि उनीहरू प्रतिस्पर्धामा थिए। उनीहरूअझ विक्री गर्न चाहन्छन्। केही समाजमा मानवजीवनको कुनै अर्थ रहेनछ।"

यसैबीच इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाएका अमेरिकी यात्री साम्या स्टुमोका आफन्तले बिहीवार शिकागोमा बोइङ कम्पनीविरुद्ध मुद्दा हालेका छन्।
 

प्रतिक्रिया दिनुहोस