एसईई सँगै दिएका आमाछोराको क्याम्पस पनि सँगै पढ्ने रहर

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १७ : २६
एसईई सँगै दिएका आमाछोराको क्याम्पस पनि सँगै पढ्ने रहर

चितवन । एसईई परीक्षा सँगै दिएका आमाछोराले क्याम्पस पनि सँगै पढ्ने बताएका छन् । तनँहुको आँबुखैरेनीको लक्ष्मी माविमा पढेका आँबुखैरेनी गाँउपालिका ६ प्युघरका ३८ वर्षीया निशा आले र १४ वर्षीय डिम्पल गुरुङले देवघाट गाँउपालिका ५ महेश सन्यास गुरुकुलम आश्रम परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । सँगै एसईई दिएका उनीहरूको क्याम्पस पनि सँगै पढ्ने धोको छ । 

निशाले २०५८ सालयता दुई पटक एसएलसी दिइन्, तर उत्तीर्ण हुन सकिनन् । उच्चशिक्षा अध्ययन गर्ने दृढ इच्छाशक्तिले उनलाई निराश बन्न दिएन । ‘कलेज पढेरै छाड्ने इच्छाले गर्दा दुईपटक एसएलसी अनुत्तीर्ण भए पनि अहिले एसईई दिएँ, उनी भन्छिन् । एसईईको नतिजा आएपछि कलेज भर्ना हुने उनको सोच छ । दुई पटक प्रयास गर्दा पनि उत्तीर्ण नभएपछि निशालाई एसएलसी साँच्चै फलामेढोका जस्तै लागेको छ । 

एसएलसीलाई एसईईमा परिवर्तन गरेर ग्रेडिङ सिस्टम लागु गरेर अलि सहज बनाएपछि उनीमा कलेज पढ्ने आशा पलाएको छ । उनलाई आफ्नै छोरोसँग परीक्षा दिन पाउँदा खुसी पनि लाग्यो।  निशाले भनिन्, ‘आफैले सिकाएको छोरोले मलाई सिकाउनेदेखि पढ्न हौसला दिँदा एकदमै खुसी छु । नतिजा पनि राम्रै आउने आशा छ ।’ उनले भनिन्, ‘मैले एसईई दिन हौसिएको छोराकै हौसलाले हो ।’

निशालाई अर्को कुराले पनि पढ्न सँधै घच्घच्याई रह्यो । उनी भन्छिन्, ‘नेपालमा मजस्ता पढ्न मन हुँदाहुँदै पनि विभिन्न कारण आफ्ना इच्छा दबाएर बसेका धेरै छन्, उनीहरुलाई सकारात्मक सन्देश दिन पनि म निरन्तर लागिरहेकी छु । एसईई सँगै दिइयो, अब क्याम्पस पनि छोरोसँगै पढ्ने हो ।’  डिम्पल कक्षाका फर्स्ट ब्वाई हुन्। उनी भन्छन्, ‘पहिलेबाटै ममीको उच्चशिक्षा पढ्ने इच्छा रहेकाले उहाँलाई सधैँ सिकाउनेदेखि सबै कुरामा सहयोग गरिरहेको छु । 

प्रतिक्रिया दिनुहोस