तस्करको समाचार लेखेपछि रुपन्देहीमा एक पत्रकारकी छोरी अपहरण

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १४ : ४३
तस्करको समाचार लेखेपछि रुपन्देहीमा एक पत्रकारकी छोरी अपहरण

रुपन्देही । रुपन्देहीमा पत्रकारले गोरु तस्करको समाचार लेखेपछि उनकी छोरीलाई तस्करहरुले अपहरण गरेका छन् । समाचार लेखेको रिसमा तस्करहरुले पत्रकार विन्दु चौहानकी १८ वर्षीया छोरी ममता चौहान लाई अपहरण गरी झण्डै १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा फेला पारिएको छ ।

हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी किशोरी बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख शंकर पोखरेलले उनलाई भारतीय सिमानाको गहुँखेतमा फेला पारी स्वास्थ्य जाँचका लागि अस्पतालमा पठाइएको बताए ।  

उनी राती करिब १ बजेसम्म उनी बाबुआमा नजिकैको खाटमा सुतेकी थिइन् । खुल्ला गोठ जस्तो घर भएकोले उनलाई तस्करहरुकै समूहले अपहरण गरेको परिवारले दाबी गरेका छन् । गएराती खाटमा सुताएकी छोरी बिहान नभेटेपछि खोजी कार्य सुरु भएको थियो । उनलाई कसैले अपहरण गरेको चौहान परिवारको दाबी छ ।  उनी आफै हिँडेर वा घर्सेरसमेत त्यस स्थानसम्म पुग्न नसक्ने चौहान परिवारको भनाई छ । 

तर रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले घटनाबारे अहिले नै अपहरण भन्न नमिल्ने भन्दै अनुसन्धान भइरहेको बताए ।  

पत्रकार चौहानले लुम्बिनी क्षेत्रमा रहेर निरन्तर नेपालबाट भारततर्फ हुने गोरु तस्करीको समाचार लेख्दै आएका छन् । सोही कारण तस्करहरुले पटक–पटक पत्रकार चौहानलाई धम्की दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस