नेपालमै बन्यो मिनी 'पानीजहाज', चल्न थाल्यो सरर

सोमबार, १८ चैत्र २०७५, १७ : २५
नेपालमै बन्यो मिनी 'पानीजहाज', चल्न थाल्यो सरर

इटहरी  । नेपालमा पहिलोपटक सप्तकोसीमा सञ्चालन हुने जेट बोट निर्माण भएको छ । मोरङको सुन्दरहरैँचाको बलियामा नेपालकै प्राविधिकहरुले जेटबोट बनाएका हुन् । दुई करोड लागतका जेटबोट निर्माण भएको निर्माताको भनाइ छ ।

मिनी पानीजहाजको सप्तकोसीमा सफल परीक्षणसमेत भएको छ । शनिबार साँझ ७ बजेपछि परीक्षण गरिएको इन्जिनियर लेखराज रिजालले बताए । मोरङबाट चतरासम्म ठूला ट्रकमा बोकेर लगिएको र क्रेनले निकालेर पानीमा सफल परीक्षण गरिएको रिजालले बताए । उनले भने, ‘नेपाली प्राविधिकले बनाएर पहिलोपटक सप्तकोसीमा चलेको जेटबोट हाम्रो भयो । हामी खुसी छौं ।’

जेटबोटलाई सगरमाथाको उचाइका नाममा ८८४८ मिटर नाम दिइएको छ । नेपाली पुँजी र प्राविधिकले बनाएको जेटबोटलाई । उक्त जेटबोटको बडीमै लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल ।’

गत जेठ २२ गते दर्ता भएर सञ्चालनमा आउन लागेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले बनाएको हो जेटबोट । ३० सिटे जेटबोट निर्माणको नेतृत्व इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालले गरेका थिए ।

जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेश चौधरीले गरेका थिए । सुन्दररहंैचाको जयलक्ष्मी फाइबर उद्योग र  विराटनगरको जिडिएस फाइबर वल्डको सँगको सहकार्यमा जेटबोट निर्माण भएको हो ।

काठमाडाैं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोही विषय पढेका रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन् ।

इन्जिन र जेट बने विदेशी

जेटबोटका लेआउट, बडी र सबै संरचनाहरु नेपालमै उपलब्ध सामानहरु बाट बनाइएको हो । जेटबोटको इन्जिन र जेट भने फिनल्यान्डबाट ल्याइएको हो । फाइबर र स्टिल लगायतका सामान प्रयोग गरेर बनाइएको जेटबोटमा इन्जिन र जेटमात्रै विदेशबाट ल्याउँदा पनि धेरै जोखिएको प्राविधिक बताउँछन् ।

नेपालमै जेटबोट बनाउँदा डेढ करोड जोगिने इन्जिनियर रिजाल बताउँछन् । रिजालका अनुसार इन्जिन र जेट बाहेकका जेटबोटका संचरना विदेशबाट खरिद मूल्य, यातायात र अन्य खर्च गरेर लाग्ने रकम बच्दा डेढ करोड कमै नेपाली जेटबोट तयार हुन्छ ।

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिका लगानीकर्ता राजेन्द्र कार्की पनि इन्जिनियरहरुले नेपालमे जेटबोट बनाउने बताएपछि विदेशमा पूरै निर्भर नभएको बताउँछन् । आफ्नो कम्पनीमा इन्जिनियरहरुसमेत लगानीकर्ता भएकाले आफ्नो कम्पनी प्राविधिक रुपमा बलियो र आत्मनिर्भरसमेत हुने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस