अरुकै गाईगोठको फोटो खिचेर अनुदान लिने दिन गए : कृषिमन्त्री लामा

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०७५, १७ : २२
अरुकै गाईगोठको फोटो खिचेर अनुदान लिने दिन गए : कृषिमन्त्री लामा

चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले अब अरुकै गाईगोठको फोटो खिचेर अनुदान लिने दिन गएको बताउनुभएको छ । 
आज भरतपुरमा भएको नारायणी लिफ्ट सिंचाइ जल उपभोक्ता मूल समितिको २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री लामाले भन्नुभयो, ‘यसअघि वास्तविक किसानसम्म अनुदान नपुगेकै हो, अबको अनुदान वास्तविक किसानसम्म पुग्नेछ ।’ मन्त्री लामाले कृषि अनुदान पाइन्छ, तर काम सुरु गरेको हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाई पाल्ने हो भने गोठ बनाएको हुनुपर्छ, माछा पाल्ने हो भने पोखरी निर्माण गरेको हुनुपर्छ ।’ 
मन्त्री लामाले कृषिलाई आधुनिकीकरण, व्यवसायिक र औद्योगीकरण भइरहेको हुनाले त्यतातर्फ ढल्कन उहाँले आग्रह गर्नुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘अब कचियाँ लिएर घाँस काट्न जाने होइन, बारीमा मल हाल्न डोको बोकेर जाने होइन, स्वीचको भरमा गोबर सोर्न सकिन्छ । कृषिमा भइरहेको आधुनिकीकरणलाई हामी सबैले अँगालौँ, देश समृद्ध हुन धेरै समय लाग्दैन ।’

मन्त्री लामाले अब फेरि बन्दाबारीमा डोजर लगाउन नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन नं प्रदेशमा १३ वटा कोल्डस्टोर्स निर्माण गर्न प्रदेश सरकार लागिरहेको छ, चितवनमा पनि चनौली र खैरहनीमा कोल्डस्टोर्सको काम अघि बढेको छ ।’ उहाँले अब जोतिने बन्दाहरु कोल्डस्टोर्समा रहने र पछि विक्री हुने अवस्था छिटै आउने बताउनुभयो । उहाँले भ्रष्टाचारमुक्त समाज निर्माण गरी समृद्ध नेपाल बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो । 
नारायणी लिफ्ट सिंचाइ जल उपभोक्ता मूल समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, भरतपुर वडा नं ८ का वडाध्यक्ष दामोदर न्यौपाने, ५ नं वडाका वडाध्यक्ष पदमपाणि सुवेदी, नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय प्रमुख खेमबहादुर पाठकलगायतले मन्तव्य दिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस