डाक्टरको कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०७५, १७ : १६
डाक्टरको कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

पर्सा । डाक्टर श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि मृतकका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै शनिबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । 
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । गत चैत ११ कुटपिटबाट घाइते भएकी सुनितालाई वीरगञ्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार गरेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । 
सुनिताका आफन्त जयप्रकाश यादवका अनुसार १५ वर्ष पहिले वीरगञ्ज महानगरपालिका–२० हरपतगन्ज निवासी डा. सचितानन्द यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए । सुनीताबाट सन्तान नभएको भन्दै विवाहको दुई वर्षपछि सचितानन्दले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै उनले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ । 
प्रदर्शनपछिको कोणसभालाई संवोधन गर्दै प्रदेशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतले सुनीतालाई न्याय दिनुपर्ने बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस