३ बालीकासहित चितवनका ४ जनाको उद्धार, फेसबुकले भारत पुर्‍यायो

शुक्रबार, १५ चैत्र २०७५, १८ : ५२
३ बालीकासहित चितवनका ४ जनाको उद्धार, फेसबुकले भारत पुर्‍यायो

चितवन । माइती नेपाल चितवनले पछिल्लो केही दिनयता ४ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको छ । उद्धार गरिएकामध्ये इच्छाकामना गाउँपालिकाबाट हराएका ३ जना बालिकालाई परिवारको जिम्मा लगाएको छ । 
इच्छाकामना गाउँपालिका ७ की कक्षा ६ मा अध्ययनरत १५ वर्षीया, कक्षा ५ मा अध्ययनरत १२ वर्षीया र कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका चैत १२ गते हराएका थिए । बिहान पढ्न भनी हिँडेका एउटै विद्यालयमा अध्ययनरत उनीहरु घर नफर्किएपछि परिवारले माइती नेपाल चितवन कार्यालयमा खबर गरेका थिए । चैत १३ गते रत्ननगर नगरपालिकाको टाँडीस्थित एक होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको माइती नेपाल चितवनका संयोजक इश्वर गिरीले जानकारी दिनुभयो । 

फेसबुकले भारत पुर्‍यायो
फेसबुक र फोनमा भएको कुराकानीकै आधारमा भारतको दिल्ली पुगेकी चितवन राप्ती नगरपालिकाकी एक महिलालाई उद्धार गरिएको छ । हाल माइती इण्डियाको संरक्षणमा रहेकी ती महिलालाई केही दिनभित्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारी भइरहेको संयोजक गिरीले बताउनु भयो । २ जना बच्चाकी आमा ती महिलाको श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । 
आफन्तका अनुसार विगत केही महिनादेखि ती महिला सामाजिक सञ्जालहुँदै फोन सम्पर्कमार्फत भारतका एक युवासँग नजिकिएकी थिइन् । ती युवालाई भेट्न भनी महिला मंगलबार भारततर्फ हिँडेको थाहा पाउनासाथ आफन्तले माइती नेपाल चितवनको कार्यालयमा सम्पर्क गरेका थिए । कार्यालयले चितवनबाट ती महिला चढेको गाडी नम्बरसहित माइती इण्डियामा सम्पर्क गरेपछि भारतका ती अपरिचित पुरुषलाई भेट्न नपाउँदै बुधबार उद्धार गर्न सफल भएको संयोजक गिरीले सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस