मुलुकभर पठाएका एसईई प्रश्नहरुको रुजु गर्न शिक्षामन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, १४ : ५४
मुलुकभर पठाएका एसईई प्रश्नहरुको रुजु गर्न शिक्षामन्त्रीको निर्देशन

चितवन । प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै आउट भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकभर पठाएका एसईई प्रश्नहरुको रुजु गर्न निर्देशन दिनुभएको छ ।
उहाँकै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकले पनि मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।
मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरेको हो ।
प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले अनुसन्धान गर्ने भएको छ । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो ।सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएको भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो ।

प्रतिक्रिया दिनुहोस