परीक्षाअगावै फेरि सामाजिक विषयको प्रश्नपत्र आउट

सामाजिक सञ्जालदेखि पसलहरूमा छ्याप्छ्याप्ती भेटिए

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, ०९ : ०४
परीक्षाअगावै फेरि सामाजिक विषयको प्रश्नपत्र आउट

चितवन । कतिसम्म लापरबाही, परीक्षाअगावै प्रश्नपत्र सामाजिक सञ्जालदेखि पसलहरुका छ्याप्छ्याप्ती भेटिए । प्रदेश २ मा फेरि आजको सामाजिक विषयको परीक्षाअगावै प्रश्नपत्र  सामाजिक सञ्जालमा छाइसकेको भेटियो । सामाजिक सञ्जालमा मात्र होइन, पसलहरुमा पनि फोटोकपीहरु छ्याप्छ्याप्ती थिए । 
प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को सामाजिक विषयको एसईई परीक्षा स्थगित गरिएको छ । समाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो । स्थगित गरिएको परीक्षा चैत २३ गते हुने बताइएको छ । 
एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको उहाँको भनाइ छ । प्रदेश २ मा यसअघि हिजोको विज्ञान विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो । ‘दोस्रोपटक पनि एसईई प्रश्नपत्र बाहिरिएको खबर आयो, गम्भीररुपमा छानविन गर्नेछौँ’ शिक्षा निर्देशक शर्माले बताउनुभयो । एकपछि अर्को लापरबाहीपूर्ण घटना भएकाले यसबारे गम्भीर रुपमा छानबिन हुने उहाँको भनाइ थियो । 
एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकार रहेको बताउनुभयो । उहाँले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस