एसईई परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरियो, परीक्षा रद्द गरियो

समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोस्ट

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १३ : ५५
एसईई परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरियो, परीक्षा रद्द गरियो

सप्तरी । प्रदेश नं २ सप्तरीमा आज भएको एसईई परीक्षाको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको छ । 
परीक्षा बिहान ८ बजे सुरु हुनुअघि ७ : ४७ मा प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमा भेटिएको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा संयोजक समितिका प्रमुख सुरेन्द्र पौडेलले सफल खबरलाई जानकारी दिनुभयो । उहाँले सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिर नगएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहाँबाट प्रश्नपत्र बाहिर गयो त्यो थाहा भएन, तर बाहिर गएको पक्का हो ।’ 
प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गरेको उहाँले बताउनुभयो । ‘बिहान ७ बजे प्रश्नपत्र प्रहरी कार्यालयबाट परीक्षा केन्द्रमा पुग्छ, ७ः३० मा केन्द्राध्यक्षले सबैको रोहवरमा प्रश्नपत्र खोलिन्छ, तर आठ बजे परीक्षा सुरु हुन्छ’ उहाँले भन्नुभयो, ‘कसरी प्रश्नपत्र बाहिरिएको हो, अनुसन्धान भइरहेको छ ।’ उहाँका अनुसार सिफारिसका आधारमा विज्ञान विषयको परीक्षा पुनः हुनेछ ।  

परीक्षा रद्द गरियो
परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माका अनुसार प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको छ । ‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उहाँले भन्नुभयो । प्रदेश २ मा रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । उक्त विषयको परीक्षा चैत २२ गते हुने जनाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस