महानगर प्रमुख रेनु दाहालद्वारा एसईई परीक्षाको अनुगमन

बुधबार, १३ चैत्र २०७५, १३ : ४७
महानगर प्रमुख रेनु दाहालद्वारा एसईई परीक्षाको अनुगमन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गर्नुभएको छ । 
प्रमुख दाहालले महानगरका महानगरका ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गर्नुभएको हो । उहाँले चितवन मावि परीक्षा केन्द्र, बालकुमारी कन्या मावि र बालकुमारी मावि परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नुभएको थियो । उहाँसँगै महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगर शैक्षिक महाशाखाका बाबुराम दवाडी, महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपीडित भण्डारीलगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो । 
अनुगमनपछि महानगर प्रमुख दाहालले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीहरुले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’ उहाँले अब हुने एसईईको बाँकी परीक्षाहरुलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । 
प्रमुख दाहालले विद्यार्थीहरुलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभएको थियो । आज विद्यार्थीहरुले अनिवार्य गणितको परीक्षा दिएका थिए । चितवन मावि परीक्षा केन्द्रमा नारायणी नमुना मावि, बालकुमारी मावि, नयाँकिरण मावि र सिद्धिविनायक माविका विद्यार्थीहरुले परीक्षा दिएका छन्,  जहाँ छात्रा २०९ र छात्र २२४ गरी जम्मा ४३३ विद्यार्थीहरु छन् । बालकुमारी कन्या मावि परीक्षा केन्द्रमा वाल्मीकि शिक्षा सदन, चितवन बोर्डिङ स्कुल, स्मल हेभन मोडल स्कुल, सनफ्लावर बोर्डिङ स्कुल, बालकुमारी मावि, बालकुमारी बोर्डिङ स्कुल र सेन्ट्रल बोर्डिङ स्कुलका विद्यार्थीहरुले परीक्षा दिएका छन् । बालकुमारी कन्या मावि परीक्षा केन्द्रमा छात्रा १९० छात्र २१६ गरी जम्मा ४०६ विद्यार्थीहरु छन् । 
यस्तै बालकुमारी मावि परीक्षा केन्द्रमा चितवन मावि, भानु मावि, सीताराम संस्कृत मावि र कविलास माविका विद्यार्थीहरुले परीक्षा दिएका छन्, जहाँ छात्र १२८ छात्रा १४२ गरी २७८ जनाले परीक्षा दिएका छन् । 
चितवनमा यसवर्षको एसईईमा ११ हजार २५४ विद्यार्थी सहभागी भएका शिक्षा समन्वय समितिले जनाएको छ । गत वर्ष १२ हजार १५० विद्यार्थी सहभागी भएका थिए । परीक्षा सञ्चालनको लागि चितवनमा ४२ वटा केन्द्र तोकिएको छ । गत वर्ष पनि ४२ वटा केन्द्र नै थिए ।
नियमिततर्फ ११ हजार ७ जना विद्यार्थी एसईई परीक्षा दिने शिक्षा समन्वय समिति परीक्षा शाखाका कर्मचारी रघुनाथ अधिकारीले जानकारी दिनुभयो । चितवनबाट प्राविधिक धारतर्फका १५२ जना परीक्षामा सहभागी भएका छन् । चितवनमा ६ वटा विद्यालयमा प्राविधिक धारको विषयको अध्ययन अध्यापन हुँदै आएको छ ।
भरतपुरका चितवन माविले खुला विद्यालय पनि सञ्चालन गरेको छ । आठ कक्षा पास भएर केही वर्ष खाली बसेका विद्यार्थीहरु खुलातर्फबाट परीक्षामा सहभागी हुने छन् । चितवनमा १४ जना परीक्षार्थी खुलातर्फबाट एसईई परीक्षामा सहभागी भएका छन् । ६ जना दृष्टिविहीन पनि परीक्षामा सहभागी भएका छन् । 

प्रतिक्रिया दिनुहोस