चितवन । उनलाई २०६३ साल असारदेखि हो ढाड र पेट दुख्न सुरु गरेको । कति गतेबाट हो, उनले भेउ पाउन सकिनन् । उनी ढाड दुख्यो भनेर हस्पिटल जान्थिन्, एक झोला औषधि बोकेर आउँथिन् । महिनौँ दिनसम्म औषधि खान्थिन्, उनको व्यथा भने जस्ताको त्यस्तै हुन्थ्यो । सन्चो नभएपछि फेरि धायो हस्पिटल, फेरि ल्यायो नयाँनयाँ औषधि । समस्या जहाँको त्यहीँ ।
अस्पताल जाने र औषधि खाने यस्तो क्रम उनको पटकपटक दोहोरियो, तर समस्याको कुनै टुङ्गो लागेन । ‘डाक्टरहरुले शरीरका जाँच गर्न मिल्नेजति सबै अंगहरु जाँच गर्थे, तर समस्या पत्ता लगाउन सक्थेनन्’ ५६ वसन्तमा दौडिरहेकी भरतपुर १२ निवासी कृष्णकुमारी पौडेलले भनिन् । औषधि किन्दा र जाँच गर्दा कति पैसा सकियो उनले अहिले त्यो भेउ पाउँदिनन् । यति भन्छिन्, ‘सबै जाँच गर्दा पनि डाक्टरले रोग पत्ता लगाउन सकेनन्, खै, उनीहले के पढेका होलान ! म त आजिद भएको थिएँ ।’
उनको व्यथा ढाड दुख्ने थियो । पेट पनि पोल्थ्यो । प्रायः डाक्टरहरुको एउटै बोली हुन्थ्यो– ‘तपाइँलाई ग्यास्ट्रिक छ, औषधि लेखिदिएको छु भनेअनुसार नियमित खानू ।’ डाक्टरसाबले भनेपछि कसरी विश्वास नमान्ने ? आफैँ जान्ने भए डाक्टरकहाँ फेरि किन आउने ? यही सोच्दै उनी औषधि खान्थिन्, तर समस्या घट्नुको साटो झन बढिरहेको हुन्थ्यो ।
प्रत्येक पटक जँचाएर औषधि लिएर जाँदा सोच्थिन्, ‘अब त कसो सन्चो नहोला ! यसपटकको औषधिले पक्का निको पार्ला ।’ तर उनको सोचाइले जहिल्यै पनि धोका खान्थ्यो । जति औषधि खाए पनि उनको व्यथा घटेन । औषधि खाँदाखाँदै आजित भइन् उनी, तर समस्या बढ्दै गयो ।
समय जान कति बेर लाग्छ र ! हिजोजस्तो लागेको थियो, ढाड दुखेको, सात वर्ष बितेछ । कति औषधि खाइन् होला उनले सात वर्षसम्म ? ‘औषधिका खोल, खाली चक्कीका पत्ता र झोल औषधिको सीसा राखेको भए सात बोरा हुन्थे होलान्’ उनी भन्छिन्, ‘औषधि खाँदाखाँदै आजित भएर थाकेपछि बल्ल डाक्टरहरुले मेरो रोग पत्ता लगाए ।’
रोग पत्ता लाग्दा पनि खुसी हुुनुपर्ने अवस्था, कस्तो जिन्दगी ! सात वर्षसम्म रोग पत्ता नलागीनलागी औषधि खाँदाको स्थिति कस्तो थियो होला ? जोकोहीको कल्पनाभन्दा बाहिरको कुरा बन्ला । कति पैसा सकियो होला ? कुनै हिसाबकिताब छैन ।
‘रोग पत्ता लागेर औषधि खान पाए त हुन्थ्यो नि, हचुवाको भरमा कहिले ग्यास्टिक, कहिले दुखाई, कहिले के कहिले के, औषधि खाको छ, खाको छ’ उनी भन्छिन्, ‘पुरानो घाउ नकोट्टाउन पाए राम्रो हुन्थ्यो, तर मानसपटलमा त्यही नाचिरहन्छ ।’ रोग पत्ता नलागी औषधि खाँदा कति पैसा सकियो होला त ? ‘हिसाबकिताब नगर्दा नै राम्रो, पेट पोल्छ’ उनले भनिन्, ‘रोग पत्ता नलाग्दासम्म मेरो ५÷७ लाख त पक्का सकिएको छ ।’
‘रोग नदेख्दासम्म पैसाको कुलो बगेको थियो होला । रोग देखिएपछि पैसाको खोलो बगिरहेको छ’ लामो सास तान्दै उनी गुनासिइन्, ‘बाचुन्जेल सबै सम्पत्ति सक्ने रोगको जालमा परियो, उक्कन कहिल्यै नसकिने ।’
उनलाई यतिबेला चितवन मेडिकल कलेज पानीपधेँरोजस्तो भएको छ । जहाँ उनी मृर्गौला डायलासिस गर्न दिन बिराएर पुग्ने गरेकी छन् । दुबै मिर्गौला फेल भएको शरीर घिसार्दै उनी डायलासिसको लागि पुगिरहेकी हुन्छिन् ।
२०७० सालदेखि उनलाई मिर्गौला समस्या देखिन थालेको हो । उनी भन्छिन्, ‘समयमै रोग पत्ता लागेको भए, यति साह्रो हुन्थेन होला ।’ उनले मिर्गौला डायलासिस गर्न थालेको पनि ३ वर्ष भइसकेको छ । सरकारले डायलासिसको सेवा निःशुल्क गरिरहेको छ । यसले केही राहत भएको उनी बताउँछिन् । भन्छिन्, ‘डायलासिसको सेवामात्र हो सरकारले दिने, यसको उपचारमा अन्य धेरै खर्च हुन्छ ।’
यतिबेला उनको उपचारमा मासिक ३५ हजारभन्दा बढी नै खर्च भइरहेको छ । दैनिकजसो रगत हाल्नुपर्छ । सुई लगाउनुपर्छ, एउटै सुई १३ सय सम्म पर्छ । ८÷८ दिनमा स्वास्थ्य जाँच गर्नुपर्छ । २० थरिका औषधि किनेर खाइरहनुपर्छ । यसबाहेक अन्य खर्च त कति हो कति, भनी साध्य छैन । मिर्गौला उपचारमै उनको चितवन माडीको सात कठ्ठा सात धुर जग्गा स्वाहा भयो । उनी भन्छिन्, ‘मृर्गौला रोगले धान फल्ने ७ कठ्ठा खेत निल्यो, अझै पनि रोगले निलिरहेको छ, यो रोगको उपचार गर्दागर्दै झिटिझाम्टो उड्दो रहेछ ।’
देशमा मिर्गौला रोगीको संख्या बढ्दै गइरहेको र धेरै गरिबहरुले उपचारको खर्च अभावमा मृत्युलाई अँगाल्न परिरहेको हुनाले सरकारले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने उनले बताइन् । उनी भन्छिन्, ‘सरकारले डायलासिसमात्र होइन, अब निःशुल्क मिर्गौला प्रत्यारोपणसम्मको व्यवस्था गर्नुपर्छ । नत्र गरिब नेपालीहरु मिर्गौला रोगको उपचारको अभाव मृत्युको मुखमा पुग्नेछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०७५, १३ : १४
लेखकबाट थप