भरतपुर महानगर सदैव यातायात श्रमिकको हितमा : प्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०७५, १५ : २५
भरतपुर महानगर सदैव यातायात श्रमिकको हितमा : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका सदैव यातायात श्रमिकको हितमा लागिरहेको बताउनुभएको छ । 
आज मुक्तिनगर यातायात प्रालिको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले महानगरलाई स्मार्ट सिटी बनाउन तीन पांग्रे सवारी साधनलाई व्यवस्थित गरेको बताउनुभयो । उद्घाटन कार्यक्रममा उहाँले बजारमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न, महानगरको मुख्य सहरलाई सफा, सुन्दर र हराभर सहर बनाउन तीन पांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा रोक लगाइएको बताउनुभयो । 
कार्यक्रममा उहाँले भन्नुभयो, ‘अटो व्यवस्थापनको निर्णय एक्लो मेयरले मात्र गरेको होइन, जिल्लाका राजनीतिक दल, ट्रेड युनियन व्यवसायी, श्रमिक नेतागढ सबैको सहमति र संवादले तीन पांग्रे सवारी साधानको व्यवस्थापन गरेका हौँ ।’ महानगर प्रमुख दाहालले गाउँगाउँमा सडकहरु निर्माण भएका छन्, अब तीन पांग्रे सवारी साधन त्यतातर्फ ढल्कन सुझाव दिनुभयो । 
कार्यक्रममा उहाँले भन्नुभयो, ‘सहरलाई मर्यादित र सुन्दर बनाउन केही न केही सबैबाट त्याग भएको छ, यसलाई अझ मर्यादित बनाउनछ । राजमार्गमा अटो चलाउन नपाउँदा अटो व्यवसायीहरुलाई कुनै मर्का परेको छ भने महानगर त्यसको संवोधन गर्न तयार हुन्छ । वार्ता र संवादबाट हामी समाधान गर्न चाहन्छौँ ।’

कार्यक्रममा प्रमुख दाहालले राजमार्गमा अटो व्यवस्थापन हुँदा सहर सफा, सुन्दर देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति नियमभित्र जोकोही पनि बाँधिन आवश्यक हुन्छ, नियमलाई छोडेर कसैलाई पनि बाहिर जान छुट हुँदैन । महानगर स्थानीय सरकार भएको हुनाले यसले पनि आफ्नो नीतिनियमलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ ।’
कार्यक्रममा विशिष्ट अतिथि रहनुभएकी महानगर उपप्रमुख पार्वती शाहले परिवर्तन गर्न सुरु आफैँबाट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाज परिवर्तन गर्नुछ भने पहिला सुरु आफैँबाट गर्नुपर्छ अनि अरुलाई भन्न सकिन्छ ।’
कार्यक्रममा प्रदेश ३ का ट्रापिक प्रमुख एसपी नवीनराज राईले ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘एउटा दुर्घटना हुन एक सेकेण्ड काफी हुन्छ, सचेत भएर सवारी हाँक्नुपर्छ ।’
कार्यक्रममा उहाँले हामी सबैले चाँडै जानुपर्छ, ओभरट्यांक गर्नुपर्छ भन्ने सोच हटाउनुपर्ने बताउनुभयो । उहाँले कुल मृत्युदरको २९ प्रतिशत सवारी दुर्घटनाबाट हुने गरेको बताउनुभयो । 
कार्यक्रममा चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख चन्द्रराज गिरीले चितवनमा १८ वर्षभन्दा कम उमेरका चालकहरुले पनि तीन पांग्रे चलाइरहेको बताउनुभयो । उहाँले भन्नभयो, ‘नीति नियमभन्दा बाहिर जान मिल्दैन, त्यस्ता चालकहरुलाई कारबाहीको दायरामा आउनेछन् ।’

कार्यक्रममा यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले चालकहरुले समयमै लाइसेन नपाउने समस्या कायमै रहेको बताउनुभयो । कार्यक्रममा मुक्तिनगर यातायात प्रालिका महासचिव अनक मगरले महानगरले पछिल्लो पटक तीन पांग्रे सवारीको व्यवस्थापन राम्रोसँग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मजदुर हितको पक्षमा म सधैँ लागिरहेको छु ।’
मुक्तिनगर यातायात प्रालिका अध्यक्ष लक्ष्मणप्रसाद भट्टराईले सरकारको नीतिअनुसार मुक्तिनगर यातायात प्रालिमा गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लगानी सुरक्षित हुने र कमाइ राम्रो हुने हो भने अटो व्यवसायीहरु राजमार्ग छोड्न तयार छन् ।’
कार्यक्रममा उहाँले मुक्तिनाथ यातायात प्रालिमा आवद्ध रहेका अटो व्यवसायीहरु अनुशासन, मर्यादित र सफल हुनुपर्ने बताउनुभयो । उहाँले मुक्तिनाथ व्यवसायी यातायात प्रालिमा ३०० भन्दा बढी अटो व्यवसायी रहेको बताउनुभयो ।   
 

प्रतिक्रिया दिनुहोस