मिर्गौला पीडितलाई तमू समाज बेल्जियमको सहयोग

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, २० : १५
मिर्गौला पीडितलाई तमू समाज बेल्जियमको सहयोग

रत्ननगर । दुवै मिर्गौलाले काम नगर्दा उपचार अभावमा बसिरहेकी इच्छाकामना काउलेकी २८ वर्षिया राधा गुरूङलाई तमू समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । समाजका पूर्व उपाध्यक्ष एवम् तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरूङको पहलमा उपलब्ध भएको एक लाख ५० हजार रूपैयाँ रकम बिरामी राधालाई भेटेर हस्तान्तरण गरिएको हो । आर्थिक अभावले गर्दा उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग रकम जुटाएर हस्तान्तरण गरिएको तमू समाज बेल्जियमका पूर्व उपाध्यक्ष गुरूङको भनाइ छ । घरको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको राधाका श्रीमान् टुमराज गुरूङले गुनासो गरे । राधाको अहिले भरतपुस्थत कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । महिनामा दुई पटक डायलासिस गरिरहेको उनले बताए ।

राधाको उपचारको लागि यसअघि संस्थागत हिसाबले शेर्पा समाज बेल्जियम र विरगञ्ज ज्योति फारमले पनि सहयोग गरेको थियो । साथै केही आफन्तहरूले व्यक्तिगत रुपमा समेत सहयोग गर्दै आएको उनको भनाइ छ । श्रीमतीको उपचारको लागि कम्तिमा १५ लाख रूपैयाँ आवश्यक परेकोले सबैको सहयोगबाट ज्यान बचाउन सकिनेमा उनले आशा व्यक्त गरे । अहिले रत्ननगर १४ लौरीघोलस्थित आफन्तको घरमा बस्दै आएका गुरूङ परिवारलाई सहयोग रकम बुझाउन शुक्रबार तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष एवम् तमू समाज बेल्जियमबा पूर्व उपाध्यक्ष गणेशबहादुर गुरूङ, प्रदेश नं. ३ का उपाध्यक्ष हिमाल गुरूङ, सदस्य कृष्णबहादुर गुरूङ, यमबहादुर गुरूङ, केन्द्रीय सदस्य शारदा गुरूङ र मीना गुरूङसहितको टोली रन्ननगर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस