२४ औँ विश्व पानी दिवस

भरतपुरका ४३ प्रतिशत उपभोक्तामा खानेपानी

सात वर्षभित्र सबै ठाउँमा लैजान्छौँ : दाहाल

शुक्रबार, ०८ चैत्र २०७५, १५ : २३
भरतपुरका ४३ प्रतिशत उपभोक्तामा खानेपानी

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल हुन् । दाहाल खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक भएर भरतपुर आउनुभएको साढे दुई वर्ष भएको छ । उहाँसँग सफल खबर डट कमले आज परेको २४ औँ विश्व पानी दिवसको अवसरमा गरेको कुराकानी उहाँकै शव्दमा ।  
वर्सेनि २ हजार बढी ग्राहक
म भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा कार्यकारी निर्देशक भएर आएको साढे २ वर्ष भएको छ । यतिबेला मलाई अहिले के फिल भइरहेको छ भने हामी सात वर्षभित्रैमा भरतपुरका २९ वडाहरुमा शुद्ध खानेपानी लैजान सक्छौँ । अहिले महानगरमा ४३ प्रतिशत उपभोक्तामाझ खानेपानी पुगेको छ ।  दैनिक २ करोड ३५ लाख  लिटर पानी उत्पादन भइरहेको छ । जसमध्ये २ करोड ५ लाख लिटर पानी बिक्री  हुने गर्दछ । यस बोर्डअन्तर्गत २६ हजार ५०० भन्दा बढी ग्राहकले शुद्ध पानी पिउने अवसर पाएका छन् । वर्सेनि २ हजार बढी ग्राहकहरु थपिएका छन् ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्ड भरतपुर महानगरपालिकाभित्रका बासिन्दाहरुलाई व्यवस्थित, शुद्ध र नियमित खानेपानी व्यवस्थापन गर्ने जुटिरहेको छ । मुख्य गरेर हाम्रो कार्यक्षेत्र भनेको भरतपुर महानगरपालिका हो । महानगरभित्र सम्पूर्णलाई खानेपानी व्यवस्थापन गर्ने हामी लागिरहेका छौँ । हामी यतिबेला भरतपुर महानगरको पश्चिमी क्षेत्रमा खानेपानी वितरणमा जुटेका छौँ । मंगलपुर, गीतानगरसम्म हामी पुगिसकेका छौँ । विस्तार हाम्रो सेवा फराकिलो बनाइरहेका छौँ । 

भरतपुर महानगरपालिकामा विकट ठाँउहरु पनि छन् ।  वडा नं. २९ कविलासमा विकट बस्तीहरु पनि छन् । त्यहाँ खानेपानीका स्रोत भनेको डीप बोरिङबाट सम्भव छैन । कुनै मुहान अथवा झरनाहरु, खोलाहरुबाट लिने हो । 
त्यस्तै भरतपुर महानगरपालिकाको दक्षिणी क्षेत्र मेघौली, शुक्रनगर, जगतपुर, दिव्यनगरलगायतका क्षेत्रहरुमा नेपाल सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत जिल्लास्थित कार्यालयबाट योजनाहरु संचालन भई सम्बन्धित उपभोक्ता संस्थाहरुलाई हस्तान्तरण गरी उपभोक्ता संस्थाहरुले त्यहाँ खानेपानीको संचालन गरिरहेको अवस्था छ । 
महानगरका कति उपभोक्ताहरु अहिले पानीका स्थानीय स्रोतहरु जस्तै इनार, कुवा, ट्युबवेल र खोल्सीहरुबाट खानेपानीको सेवा लिइरहेको अवस्था पनि छ, हामी त्यसलाई हटाउन खोजेका छौँ । 
पानीको शुद्धीकरणमा कुनै समस्या छैन
भरतपुर महानगरको पानीको शुद्धीकरणमा कुनै समस्या छैन । कुनै समय भरतपुर महानगरको पानीलाई जाइकाले गुणस्तरको एक नं मा राखेको थियो । हामीले गुणस्तरमा ध्यान दिएका छौँ । हुन त हामीसँग स्रोत साधनको अभाव छ, तर पनि हामी शुद्ध पानीमा बढी ध्यान दिइरहेका छौँ ।  
मेघौली गोलाघाटलगायतका स्थानमा बर्षातको समयमा अशुद्ध पानी खान स्थानीयहरु अहिले पनि बाध्य भइरहेका छन् । हामी त्यो क्षेत्रमा जानलाई पहल गरिरहेका छौँ । बोर्डले वितरण गर्ने पानीको मुख्य स्रोत भनेको जमिनमुनिको पानी हो । कुनै झरना अथवा खोलाबाट लिइएको होइन । हामीले गहिरा डिप बोरिङबाट पानी ल्याउँछौँ । भरतपुरको पानीमा आर्सेनिक छैन । आइरन छैन । 
उपभोक्ताको कुनै गुनासो छैन । अहिले बोर्डसँग करिब ३५ बढी डिप बोरिङ छन् । ती सबै डीप बोरिङहरुको निर्माणपछि हामी त्यसको विश्व स्वास्थ्य संगठनले तोकेको २८ वटै प्यारामिटरको परीक्षण गर्छौं । 
सडक ढल निर्माणका क्रममा जेसीबीको प्रयोग गर्ने क्रममा पाइपहरु काटिने, उक्किने भएका छन् । यो समस्या अहिले सडक निर्माणको क्रममा बढी छ । हामी कम्प्लेन आउनसाथ मर्मत गर्न पुग्छौँ । बाहिरको दुषित पानी पाइपको माध्यमबाट नेटवर्क्भित्र प्रवेश गर्न सक्छ । त्यस्ता ठाँउहरुमा हामीले तुरुन्तै रेस्पोन्स गर्छौं । पाइपहरु फुटेर वा बाहिरको पानी प्रवेश गर्ने अवस्था नरहेको स्थानहरुमा बोर्डले वितरण गर्ने पानी पिउनयोग्य छ । 

प्रतिक्रिया दिनुहोस