रुपन्देही । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको हो ।
दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ८ बस्ने २६ वर्षीय दिलीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २५ प ६८०९ नंको मोटरसाइकलमा सवार थापाले तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिनुभयो ।
यस्तै भैरहवाको वसन्तपुरमा दुई मोटरसाइकल एकआसपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । परासीबाट भैरहवा आउँदै गरेको लु ३४ प ३४३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु ३२ प ४२४४ नंको मोटरसाइकल वसन्तपुरमा ठक्कर खाँदा एक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लु ३२ प ४२४४ नंको मोटरसाइकल चालकको भैरहवा भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भएको छैन ।
यसैबीच होली खेल्ने क्रममा जबर्जस्ती गर्ने ४९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गर्ने तथा तीव्ररुपमा सवारी चलाउनेलाई नियन्त्रणमा लिएको प्रमुख थापाले जानकारी दिनुभयो । प्रहरीले मदिराजन्य वस्तुको सेवन गरी सवारी चलाउनेलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस