– वासुदेव पौडेल
पोखरा । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।
चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताउनुभयो ।
विद्यालयमा प्राविधिक शिक्षाका लागि शिक्षा मन्त्रालयअन्तर्गतको कक्षा ९–१२ मा सिभिल इञ्जिनीयरिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) मा एसइईपछिको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाउन प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम स्वीकृत भएसँगै आउने शैक्षिक सत्रदेखि नै कक्षा चलाउने तयारी गरेका छौँ ।”
नेपाली माध्यममा पढाइ हुँदा विसं २०७१ मा ३५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अङ्ग्रेजीमासमेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै २०७२ मा ५२१, २०७३ मा ६९१, २०७४ मा ९४० हुँदै २०७५ मा एक हजार १३२ विद्यार्थी पुगेको हो । अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताउनुभयो ।
एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मङ्सिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकाल अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउनुहुन्छ ।
गुणस्तरीय शिक्षाका लागि त्यही किसिमका पूर्वाधार विकासलाई पनि आफूँहरूले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रविधिमा आधारित शैक्षिक कार्यक्रमको विकास गर्न सम्बन्धित निकायमा पहल भैइरहेको जानकारी दिनुभयो ।
“प्रविधिमा आधारित शिक्षाका लागि पोखरा महानगरपालिका र सूचना विभागसँग सहयोगका लागि प्रस्ताव पेश गरिएको छ ”, उहाँले भन्नुभयो, “कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउँदै पठनपाठनमा चक, डस्टर तथा कागजकोे प्रयोग हटाउने दीर्घकालीन सोच छ ।”
विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालनसँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् ।
पोखरा महानगरपालिका–३३ भित्रका विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिवृद्धिको विषयलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो । “गुणस्तरीयतासँगै विद्यार्थीमा व्यवहारिकता, नैतिकता जस्ता शिक्षाका महत्वपूर्ण पक्षमा सबैको चासो जानु आवश्यक छ ”, उहाँले भन्नुभयो । वडामा भूगोल सुहाउँदो प्राविधिक शिक्षा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा आफू लागेको उहाँको भनाइ थियो ।
वडामा अघिल्लो वर्ष विद्यालयबाहिर रहेका सबैलाई विद्यालयमा ल्याउने गरी थालिएको अभियान सफल भएको वडा सदस्य दीपक लामिछानेले बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि महानगरपालिकाबाट पनि शिक्षा नीति बन्दै गरेको जानकारी दिँदै उहाँले शिक्षक, विद्यार्थी तथा अभिभावकको सामुहिक प्रयासमा गुणस्तरियता कायम गर्न सकिने धारणा राख्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस