पोर्चुगल पठाउने भन्दै लाखौं असुल्ने हिमाल मेनपावरद्धारा आफनो सम्पर्क कार्यालय परिवर्तन

मंगलबार, ०२ माघ २०७४, १५ : १६
पोर्चुगल पठाउने भन्दै लाखौं असुल्ने हिमाल मेनपावरद्धारा आफनो सम्पर्क कार्यालय परिवर्तन

काठमाडौं । स्वय्म्भू सानो भर्‍याङस्थित हिमाल मेनपावरले सम्पर्क कार्यालय परिवर्तन गरेको छ । वर्षौदेखि युरोपको पोर्चुगलमा चर्को रकम असुलेर मानव तस्करी गर्दै आइरहेको अवस्थामा पछिल्लो समय आफ्नो धन्दा छताछुल्ल हुने र वैदेशिक रोजगार विभाग तथा राजश्व अनुसन्धान विभागले समेत वाच गरिरहेको चाल पाएपछि पोर्चुगल पठाउने मान्छेका लागि सम्पर्क कार्यालय नै परिवर्तन गरेको हो ।

हिमाल मेनपावरका रामवरण उप्रेती र सन्दीप अधिकारीले आफ्नो सम्पर्कमा रहेका पोर्चुगल जान इच्छुक व्यक्तिसँग १५ लाखसम्म असुलेर पाटनढोकामा अर्को सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् । त्यहाँ भास्कर नामका व्यक्तिलाई डकुमेन्ट बनाउने र राहदानी संकलन गर्ने जिम्मेवारी दिइएको बुझिएको छ ।

वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिएरै दलालमार्फत् पोर्चुगल पठाउँदै आएको हिमाल मेनपावर कम्पनीले दिल्लीबाट सेटिङ गरेर कामदार उडाउने गर्छ । नेपालको एअरपोर्ट प्रयोग गर्न श्रम स्वीकृति चाहिने र पासपोर्टमै स्टिकर लगाइने भएकाले दिल्लीबाट उडाउने गरिएको बताइन्छ ।

अवैधानिक ढंगबाट धेरै रकम असुलेर कामदार पठाउँदै आएको हल्ला चलेपछि वैदेशिक रोजगार विभाग र राजश्व अनुसन्धान विभाग चनाखो बनेको हो । त्यो जानकारी पाएकै कारण पोर्चुगलको धन्दा जारी राख्न भूमिगतरुपमा नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो ।

नयाँ जाने मान्छेसँग कति लाग्छ भन्ने कुनै बोली नफुत्क्याउने तर कन्ट्याक्टमा रहेकाहरुलाई १५ लाख बुझाउन पर्ने बताइएको छ । हाल १ लाख जम्मा गर्नु पर्ने र दिल्लीस्थित पोर्चुगलको एम्वेसीमा अन्तर्वार्ता दिन जानुअघि ५० हजार बुझाउनु पर्ने बताइएको पाटनमा आफ्नो राहदानी बुझाएका व्यक्तिले बताए ।

सानो भर्‍याङको हिमाल मेनपावरले चर्को रकम असुलेर पोर्चुगल पठाएको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा परेको र त्यहाँबाट गोप्यरुपमा छानविन भइरहेको अवस्थामा मानव तस्कर उप्रेती र अधिकारीले पाटनढोकाबाट भूमिगत शैलीमा पोर्चुगल पठाउने कामदार जम्मा गर्न थालेका छन् । हिमाल मेनपावरले चार पाँच सय बढी व्यक्तिबाट १ लाखका दरले रकम असुलेर महिनौंदेखि पोर्चुगल जान इच्छुक व्यक्तिलाई अलमल्याइरहेको छ ।

लामो समयदेखि युरोप जाने सपना पालेर अलमलमा परिरहेकाहरुले दिनहुँ के हुँदैछ भनेर सोध्न आउने भएकाले रामवरण उप्रेती र सन्जिव सन्दिप अधिकारीकै योजनामा पाटनढोकामा नयाँ सम्पर्क कार्यालय खोलिएको हो ।
यता, सानो भर्‍याङकै हिमाल मेनपावरले अर्को रणनीति खेल्न थालेको छ । पोर्चुगल पठाउने भन्दै सयौं जनासँग रकम उठाएर अलमल पारिरहेकाबेला महंगो रकम उठाएर क्यानडा पठाउने नाममा धमाधम अन्तर्वार्ता गरिरहेको छ ।

शनिबार सानोभर्‍याङमा झण्डै दुई सय बढीले अन्तर्वार्ता दिएको अन्तर्वार्तामा सहभागीले बताए । पोर्चुगलका नाममा करोडौं असुलिरहेको हिमालले क्यानडाका नाममा कति असुल्ने हो त्यो भने हेर्नै बाँकी छ । हामीले जानकारी पाए अनुसार रामवरण उप्रेतीले सयौं जनासँग करोडौं असुलेका छन् । उनको अर्को पनि महाराजगन्जमा भूमिगत मेनपावर कार्यालय रहेको पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस