हेलिकप्टर दुर्घटनामा निधन भएका पाँच जनाको अन्त्येष्टि

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १५ : ४३
हेलिकप्टर दुर्घटनामा निधन भएका पाँच जनाको अन्त्येष्टि

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पाँच जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

दुर्घटनामा परी निधन भएका  नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र  हेलिकप्टरका पाईलट प्रभाकर केसीसहित ५ जनाको पशुपति आर्यघाटमा शुक्राबार दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा दिवङ्गत हुनुभएका मन्त्री अधिकारीको शव भने अन्तिम संस्कारका लागि गृहजिल्ला कास्की लगिएको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । 

यसअघि बिहान दिवङ्गत सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए । 


काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस