हेलिकप्टर दुर्घटनापछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा समवेदना प्रकट

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १९ : २०
हेलिकप्टर दुर्घटनापछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा समवेदना प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले ज्यान गुमाएकामा गहिरो समवेदना प्रकट गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एक विज्ञप्ति जारी गरी समवेदना प्रकट गर्नु भएको हो । 
अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एक जना होनहार सदस्य, विकासप्रेमी जन प्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको अध्यक्षद्वयले बताउनु भएको छ । 
अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परी ज्यान गुमाउनुहुने स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकप्टरका चालकप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै उहाँहरुको शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति नेकपा गहिरो समवेदना प्रकछ गर्दछ ।’
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टी (AS350) हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटना भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस