जसले अष्ट्रेलिया जाने रकम पुरानो कपडामा खनाइन्

बुधबार, ०८ फागुन २०७५, १५ : १८
जसले अष्ट्रेलिया जाने रकम पुरानो कपडामा खनाइन्

चितवन । सानैदेखि उनलाई आफैँले केही गर्नुपर्ने हुटहुटी चलिरहन्थ्यो । समाजमा कुनै महिलाले उदाहरणीय काम गरेको देख्दा आफूलाई पनि यस्तै काम गरेर उदाहरणीय बन्न मन लाग्थ्यो । स्कुले जीवनदेखि नै उनमा महिलाले केही गर्न सक्छन् भनेर देखाउने इच्छा थियो, तर आज त्यो इच्छाको एक चौथाइ पूरा भएको महसुस भएको छ उनलाई । तर यतिले मात्र कहाँ पुग्नु र, धेरै गर्न बाँकी छ । अझै अगाडि बढ्नुछ, समस्याहरुलाई जित्नुछ, आँट साहस देखाउनुछ... 
यस्तै आँट साहस देखाउन अगाडि बढेकी भरतपुर १० की चन्दना कोइरालाकहाँ पुग्दा उनी फालिएका पुरानो कपडाहरुलाई बोराबाट निकालिरहेकी थिइन् । घरघरमा गएर पुरानो कपडा बटुल्ने, त्यसबाट कालो कपास निकाल्ने अनि त्यसको सिरक डसनादेखि चकटीसम्म बनाउने काममा तल्लीन छिन यतिबेला चन्दना । 
यतिबेला उनलाई बोल्ने फुर्सद पनि निकाल्न गाह्रो छ । बिहान झिसमिसे बिहानीदेखि रातिसम्म उनी थोत्रो कपडासँँग खेलिरहन्छिन् । आफ्नै उद्योगमा समय बिताउँछिन् ।
भरतपुर १० रिजालचोकमा उनको पुरानो कपडाबाट कपास निकाल्ने उद्योग नै छ । चन्दना उनीमात्र उद्यमी बनेकी छैनन्, आफूजस्तै १२ जना चेलीहरुलाई रोजगारसमेत दिएकी छन् र आफू सफल उद्यमीको रुपमा परिचित छन् । पुरानो कपडाबाट मासिक एक लाखभन्दा बढी कमाउँछिन् । हिजो केही गर्नुपर्छ भन्ने हुटहुटी चलिरहने चन्दनालाई आज कसरी अझै अगाडि बढ्ने भन्ने हुटहुटी चलिरहेको छ । 

संघर्ष गर्दै, विदेशको तयारी 
भरतपुर १४ शिवनगरबाट उनले स्कुले जीवन पार गरिन् । त्यहीबाट १२ कक्षा उत्तीर्ण पनि । पढाइ राम्रै थियो, एसएलसी र प्लस टु उनले प्रथम श्रेणीमा पास गरिन् । प्लस टु पास भएपछि हाम्रो समाजमा एउटा ‘हुरी’ आउँछ, त्यो हो बाहिर जाने । भए अष्ट्रेलिया नभए डेनमार्क क्यानडा अथवा अन्य देश । 
चन्दना सँगै पढेका लगभग ८० प्रतिशत साथीहरु विदेश जाने लाइनमा उभिन्छन् र पढ्न थाल्छन् आईएलटीएस । गाउँका पल्लो घर, वल्लो घरका प्लस टु गरेका सबै साथीहरु आईएलटीएसको तयारी गर्न थालेपछि चन्दनाको मनमा पनि चसक्क पर्छ, ‘कतै म त्यो अवसरबाट वञ्चित त हुँदिनँ !’ 
गाउँका पहिलेका दाइदिदीहरु पनि बाहिरै छन् । प्रशस्त पैसा कमाएका पनि देखिन्छ । प्लस टुमा कम अंक ल्याउनेहरु पनि अष्टेलिया ताक्न थालेपछि चन्दनाकोे मनमा पनि अष्टे«लियाको काउकुती लाग्न थाल्यो । उनी मनमनै भनिन्, ‘मभन्दा कमजोर साथीहरु बाहिर जान सक्छन् भने, म किन नसक्ने, फेरि हाम्रो समाज पनि बाहिर जाने युवापुस्तालाई नै सलाम गर्छ !’ 
घरका परिवारले पनिअष्ट्रेलिया जानलाई स्वीकृत दिए, आर्थिक जोहोसमेत गरिदिए । स्नातक पढ्नै छोडेर विदेश अष्ट्रेलिया जाने जाल बुन्न थालिन चन्दना । ‘कच्चा उमेर प्लस टु सक्नसाथ साथीहरुकै लैलैमा लागेर आईएलटीएस गरेँ, ६ नं आयो । तत्काल भिजा पनि लाग्यो’ झन्डै १० वर्ष अगाडिको कुरो सम्झदै उनले भनिन्, ‘त्यतिबेला अष्टेलिया जान १४ लाख लाग्ने भयो, बुबाआमाले रकमको जोहो गर्नुभयो ।’ उनी फुरुङ हुँदै कन्सलटेन्सीलाई केही रकमसमेत बुझाइन् । 
अनि बाटो मोडियो...
‘यत्रो पैसा खर्च गरेर विदेशिनु छ, उहाँ गएर पनि दुःखै गर्ने हो, त्यो पैसा यहीँ लगानी गरे कसो होला ! यस्ता भावनाहरु उनको मनमा जाग्न थाल्यो । उनको मनले भन्यो, ‘फेरि मेरो पढाइ पनि बल्ल प्लस टु त सकिएको छ, पढाइलाई लात हानेर के गर्नु ? आखिरी फर्केर यहीँ केही गर्न त अवश्य छ, अनि यो कच्चा उमेरमै किन भासिने ? यहाँको पढाइलाई किन अगाडि नबढाउने ?
यस्तै सोच्चासोच्दै उनको बाटो मोडियो । घरपरिवारले विदेश जानलाई जोहो गरेको पैसा बैंकमा राखिन्, अनि विदेशको सबै चक्कर छोडेर काठमाडौँ बसेर बिबिएस पढ्न थालिन् । पढ्दापढ्दै बैंकमा जागिर खाइन् । धेरै कुरा सिकिन्, बुझिन्, समयको क्रमसँग काठमाडौँमा नै प्राइवेट कम्पनीमा सिनियर लेखा अधिकृत भइन् । ७ वर्ष जागिर खाइन् । 
‘कति अर्काको जागिर मात्र खाने, आफैँ केही नगर्ने, विदेश जाने पैसा पनि छ, केही गर्नैपर्छ भन्ने लागेर मैले हुँदाखाँदाको जागिर छोडेँ’ उनले भनिन, ‘राम्रो तलब थियो, आजभन्दा ५ वर्षअगाडि हो, नेपालकै ठूला पोल्ट्री कम्पनीको सिनियर लेखा अधिकृत थिएँ, थु्रपै कमाइ हुन्थ्यो ।’ 
आफैँले केही गर्नको लागि उनले जागिर छोडिन् । भन्छिन्, जागिर भनेको ‘जा अनि ‘गिर’, गएर गिर्नेजस्तो लाग्यो, कहिल्यै आफ्नो भिजन लागू नहुने, आफूले सोचेको जस्तो नहुने मलाई त दिक्क लाग्यो ।’
जागिर त छोडिन्, अब के गर्ने ? जागिरको सिलसिलामा उनी कुनै समय भक्तपुर पुगेकी थिइन् । जहाँ पुरानो कपडा पेलेर कपास बनाउँथ्यो । त्यही कपासबाट सिरकडसना, चिटिक्कका चकटी, सफा मादले सिरानी, अनि राम्रा कुशन । उनले यही दृष्य देखेपछि उनलाई यो उद्योगले क्लिक गरेको थियो । 
हुन त उनी लेखा अधिकृत, तर विशुद्ध फरक कामले उनको ध्यान खिच्यो । न अनुभव छ, न कुनै ज्ञान । न त यससँग सम्बन्धित पढाइ । थियो त केवल, आँट, साहस र मेहनत र धैर्य । भक्तपुर जहाँ पुरानो कपडा पेलेर कपास बनाउँछ, त्यहाँ पटकपटक पुगिन् । भन्छिन्, ‘सबै कुरा त्यहाँको साहुले बताएन, जति बुझिन्, उनले राम्रोसँग बुझिन् ।’ 
उनी त्यो बेलाको समयलाई स्मरण गर्दै भनिन्, ‘धेरै कुरा सिक्न पाइएन, केवल मेशिनमात्र देखियो, फोटो खिचेर मेशिनको नाम गुगलमा खोजेँ । दिल्लीमा मेशिन पाइँदो रहेछ ।’ 
उनले काठमाडौँ छोडेर भरतपुरमा कपास उद्योग चलाउने निधो गरिन् । दिल्ली आफैँ गइन् कपडा पेल्ने मेशिन खरिद गर्न । अष्टे«लिया जाने पैसा भनेर जुन उनले १४ लाख बैंकमा राखेकी थिइन, त्यो बढेर २० लाख पुग्यो । त्यही पैसा उनले थोत्रो कपडा पेल्ने मेशिनमा लगाइन् । अनि सुरु गरिन्, भरतपुर १० रिजालचोकमा प्रकृति कपास तथा सिरक डसना उद्योग । 

पहिला गिज्याउँथे, अहिले तारिफ
बजारदेखि गाउँगाउँमा गएर उनले पुरानो कपडा बटुल्न थालिन् । अहिले उनीसँग पुरानो कपडा बटुल्ने गाडी छ । पहिला उनले हिँडेरै पुरानो कपडा बटुल्थिन् । उनले भनिन्, ‘धेरै ठाउँमा मलाई पुरानो कपडा बटुल्ने केटी भनेर गिज्याउने गर्थे, अहिले त उनै गिज्याउनेहरु तारिफ गर्छन् ।’ समाजका विशिष्ट मान्छेहरुले समेत यस्तो तल्लो काम किन गरेको भनेर उनलाई भनेका कुरा आज पनि उनको मनमा ताजा भएर बसेको छ ।
‘दुनियाँले गिज्याए, यस्तो काम त मधेसतिरबाट आएकाले गर्छन् । तिमीले किन गरेको ? यस्तो भन्नेहरु धेरै थिए, तर म पछि हटिनँ, एकदिन राम्रै गरेर देखाउँछु भन्दै अघि बढेँ’ उनले भनिन्, ‘मान्छेका अनेक भनाइले मलाई काम गर्ने हौसला बढ्यो, प्रेरणा थपियो । अहिले त उनीहरुले नै स्याबास् भन्ने गरेका छन् ।’
प्रकृति कपास तथा सिरक डसना उद्योग चलेको दुई वर्षपछि २०७३ सालमा उनले रिजालचोकमा प्रकृति फर्निसिङ ग्यालरीसमेत खोलिन् । अहिले उनले १२ जना कर्मचारीलाई राम्रै तलब दिएर जागिर दिएकी छन् । पुरानो कपडा बटुलेर वातावरणलाई सफासमेत राखेकी छन् । सम्पूर्ण खर्च कटाएर मासिक एक लाख त उनले सजिलै कमाइरहेकी छन् ।
‘हिजो पुरानो कपडाहरु खोलाको किनारमा, फोहोरको गाडीमा फाल्नेहरु आज हामीकहाँ लिएर आउँछन्, जे उनीहरु बनाउन भन्छन्, हामी त्यही बनाइदिने गरेका छौँ’ उनले भनिन्, ‘१० किलो कपडाको ९ किलो सिरक बनाउन सकिन्छ, बजार मूल्यभन्दा झन्डै ४० प्रतिशत रकम कम लाग्छ ।’
उनकै पहलमा कपास तथा सिरक डसना उद्योग व्यवसायी संघ चितवन दर्ता भएको छ । यो संस्थाले पहिलो साधारण सभा सम्पन्नसमेत गरेको छ । जहाँ ७५ जना सदस्यहरु अटाएका छन् । 
उनले ब्रह्माण समाजमा कपासको काम गर्ने नेपालकै पहिलो महिला भएको आफूलाई दावीसमेत गर्छिन् । उनी भन्छिन्, ‘म मास्टर्ससम्म पढेको मान्छे, खाइपाइ आएको जागिर छोडेर, अष्टे«लियालाई तोेडेर, यहीँ अझै पुरानो कपडा बटुल्दा सबै अच्चम्मित मान्छन्, तर कुनै काम सानो वा ठूलो हुँदैन, सबै काम आफ्नो ठाउँमा ठूला छन्, सानो काम भनेर हेप्ने हाम्रो समाजको गलत धारणा हो, यसलाई चिर्न सक्नुपर्छ ।’
 दुई पटक उद्योगमा आगलागी 
उनको उद्योगमा २०७४ को भदौ र चैतमा गरी दुई पटक आगलागी भयो । एक पटक विद्युत् सर्ट भएर, अर्को पटक मेशीनमा खराबी आएर । पहिलो पटक झन्डै ५० लाख नोक्शान भयो । दोस्रो पटक ३० लाख नोक्शान भयो । ‘अरु पुरुष नै भए पनि यो पेसा छोड्थे होलान्, आगलागीबाट धेरै नोक्शान भयो, अहिले मैले उद्योग नारायणगढ लंकुमा चलाइरहेको छु, त्यहाँ ४ जना कर्मचारी छन्’ उनले भनिन्, ‘आगलागीबाट कपडा पेल्ने मेशिन जल्यो, तर पनि हिम्मत हारेकी छैन, मेशिन मगाइसकेको छु ।’ 
उनले राज्यले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति नलिएको बताउँछिन् । उनले भनिन्, ‘राज्यले तरकारीखेती गर्नेलाई कुखुरा पाल्नेलाई सर्वसुलभ व्याजमा ऋण उपलव्ध गराएको छ, तर कपास उद्योगलाई केही छैन ।’ सरकारले महिला उद्यमीमैत्री नीति नलिएको उनी बताउँछिन् । भन्छिन्, ‘महिलालाई उद्यमतर्फ आकर्षण गर्ने खालको नीति ल्याउनुपर्छ, उद्यमसँग सम्बन्धित तालिमहरु दिनुपर्छ ।’  

प्रतिक्रिया दिनुहोस