महिला व्युटिसियनहरुको भिडमा रमाएका रमेश भन्छन्,– सैलूनबाट मनग्य आम्दानी गर्न सकिन्छ

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १८ : ५७
महिला व्युटिसियनहरुको भिडमा रमाएका रमेश भन्छन्,– सैलूनबाट मनग्य आम्दानी गर्न सकिन्छ

– सुमन गैरे
चितवन । चितवनका एक युवाले भरतपुरमा ‘युनिसेक्स’ सेलुन खोलेर मनग्य आम्दानी गरेका छन् । उनले एकै ठाउँमा महिला पुरुषको कपाल काट्नेदेखि अनुहार चम्काउने समेत काम गर्छन् ।

गोरखामा जन्मेर चितवनलाई कर्मथलो बनाउँदै आएका युवा रमेश रानाले भरतपुर १० को एयरपोर्ट रोडस्थित ज्याकवास भित्र ‘ह्याण्डसम बारवर एण्ड व्युटी केयर’ सञ्चालन गरेका छन् । व्युटी पार्लरसम्बन्धी आधारभूत र डिप्लोमा तालिम लिएका रानाले एकै ठाउँमा महिला पुरुषलाई सिंगार्ने काम गर्छन् । आफ्नो पसलमा आउने ग्राहकलाई कपाल काट्नेदेखि थे्रडिङ सम्म गर्नका लागि चारजना स्टाफ पनि राखेका छन् । ‘म र मेरी श्रीमती श्रुति पनि सँगै काम गर्छौं’ उनले भने । दैनिक ४ हजार कमाइ हुने र महिनामा १ लाख ५० हजार आम्दानी गर्ने गरेको उनले  बताए । ‘विवाह, पार्टी, चाडपर्वमा त २ लाखसम्म कमाउन सकिन्छ’ उनले थपे । आफ्नो पसलमा दैनिक रुपमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष आउने गरेको पनि उनले बताए । 

कक्षा १२ सम्म अध्ययन गरेका रमेशले १० वर्षअघि काठमाडौँमा पुरुषहरुको कपाल काट्न सिकेका थिए । पछि महिलाले खोलेको पार्लरमा ६ महिना काम सिकेको अनुभव उनले सुनाए । सिटिइभिटीबाट आधारभूत, डिप्लोमा र लेभल २ र प्रशिक्षक बन्नको लागि एससरको पनि तालिम लिएको उनले बताएका छन् । 
अहिले उनले एयरपोर्ट रोडस्थित आफ्नो वारबर र सप्तगण्डकी क्याम्पसचोकमा बिस्तार गरेको शाखाबाट पसलमा आउने ग्राहकहरुलाई सिंगार्ने काम गर्छन् । 

उनले दुवै ठाउँबाट आधारभूत तथा डिप्लोमा तहका तालिम पनि सञ्चालन गरेको जानकारी दिए । सप्तगण्डकीमा भाइलाई सीप सिकाएर राखेका छन् । 
सुरुमा भरतपुरको हाकिमचोकबाट पुरुषको दाह्री कपाल काट्ने कामबाट सुरु गरेको व्यवसाय तालिम लिएपछि रमेशले महिला पुरुष दुवैलाई सेवा दिन थाले । ‘अहिले मेरो पसलमा महिला पुरुषको भीड लाग्न थालेको छ, पाँच जना स्टाफलाई भ्याइनभ्याइ छ’ उनले भने । 

उनी अहिले आफ्नो पसलमा मात्र सिमित छैनन् । व्युटिसियनहरुको संगठन चितवन व्युटिपार्लर युनिटीको वरिष्ठ उपाध्यक्ष पनि भएका छन् । महिलाहरुको युनिटीमा पुरुष उनी मात्रै हुन् । महिला व्युटिसियनहरुसँगै तालिम दिने गरेको उनको भनाइ छ । 

चितवनमा उनीजस्ता सीप भएका पुरुष विरलै भेटिन्छन् । आफ्नो पेसाप्रति आत्मसन्तुष्टि लिएका सफल युवा व्यवसायी रमेशले सीप सिकेर आत्मनिर्भर भएपछि विदेश जानै नपर्ने बताए । 
‘२५–३० हजार रुपैयाँका लागि खाडी मुलुकमा भौतारिनु भन्दा सीप सिकेर आफ्नै देशमा रमाउनुमा मज्जा छ ।’ स्वावलम्वी रमेश रानाको भनाइ छ । स्वदेशमै रोजगारीका प्रशस्त सम्भावनाहरुलाई रोजगारीमा परिणत गर्न नेपाली युवाहरुले विदेशको सपना देख्नुभन्दा पनि रमेशबाट सिकेर स्वदेशमै लगानी गरे कमाउन समय लाग्दैन ।
 

प्रतिक्रिया दिनुहोस